विनोद चौधरीको प्रचार गरेको भन्दै भुवन केसीसँग आयोगले माग्यो स्पष्टीकरण

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई  नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ।

‘नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद चौधरीको निर्वाचन प्रचारप्रसारमा तपाईँ सहभागी भएकोबारे प्रकाशित समाचारप्रति आयोगको ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ’, केसीलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ।

निर्वाचन आचारसंहिता, २०७९  को दफा ७, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र र त्यहाँ कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ। त्यही दफाको खण्ड (ख) मा ‘राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन नहुने व्यवस्था छ।

केसी राजनीतिक दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता, २०७९  को प्रतिकूल हुने भएकोले देहायका विषयमा स्पष्टीकरण पेश गर्न आयोगले भनेको छ।

‘तपाईँ चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार प्रमाण के छ?’ स्पष्टीकरण मागिएको पत्रमा भनिएको छ, ‘तपाईँ सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान रूपमा निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिको प्रचारप्रसार गर्नुभएको ठहर भएमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३  को दफा ४४ बमोजिम विभागीय कारवाही समेत हुनसक्ने भएकोले तपाईँ उपर उक्त कारवाही किन हुनु नपर्ने हो?

मुख्य समाचार समाचार