वीपीलाई अरूले बिर्सिए होलान्, राजेन्द्र लिङ्देनले बिर्सेका छैनन् : मनिषा कोइराला

चर्चित अभिनेत्री मनिषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छिन्। 

शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै उनले राजेन्द्र लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएकाले आफूले राप्रपाका उम्मेदवारलाई रोजेको पनि स्पष्ट पारिन्। 

भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङदेनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उनको भनाई थियो । अभिनेत्री कोइरालाले वीपीको विचारलाई पनि लिङदेनले आत्मासात गरेकोमा आफूलाई गर्वबोध भएको बताइन्। 

‘आज म यहाँ उभिएको छु राजेन्द्रजीको मुख हेरेर । उहाँको भाषण सुनेर । उहाँले जब भन्नु भएको थियो नि! भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो । त्यो कुरा सुनेर मलाई लाग्यो कि नेपालले असल नेतृत्व पायो भनेर। त्यसैले म आज यहाँ उभिएको छु ।’ उनले भनिन्, ‘अरुले बिर्से होला तर राजेन्द्र लिङदेनजीले बिर्सनु भएको छैन  वीपी बा (वीपी कोइराला)लाई।’ 

उनले जनताको आवाजलाई संसदमा बलियो बनाउन पनि राप्रपाका उम्मेदवारहरूले जित्नुपर्ने तर्क गरिन्।  अभिनेत्री कोइरालाले नेपाली जनताले आफूलाई सधैं माया गरेको उल्लेख गर्दै त्यसले आफूलाई गौरवबोध गराएको समेत बताइन्। 

मुख्य समाचार राजनीति समाचार