केपी ओली दृढ अडान र राष्ट्रवादी सोच भएको नेताः कमल थापा

हेटौंडा । नेकपा एमालेको तर्फबाट क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले एमाले अध्यक्ष केपी ओली राष्ट्रियता बोक्न सक्ने आँटिलो नेता भएको बताएका छन् । नाकाबन्दीको समयमा लिएको चट्टानी अडान र राष्ट्रियताको सवालमा लिएका ऐतिहासिक निर्णयका आधारमा एमाले अध्यक्ष ओली राष्ट्रवादी नेता भएको थापाले स्पष्ट पारे ।

शनिबार जिल्लाको बकैया गाउँपालिकामा आयोजितत चुनावी सभा र विद्यार्थी भेलालाई सम्बोधन गर्दै थापाले केपी ओलीजस्तो एउटा दृढ अडान र राष्ट्रवादी सोच भएको नेतालेमात्र देशलाई संकटबाट मुक्त तुल्याउन सक्ने बताए । थापाले आफुले तत्तकालिन समयमा ओलीसँग एउटै सरकारमा रहेर काम गरेको बताउँदै सो समयमा आफूहरुले मिलेर गरेका कामहरु पनि अहिले पनि सम्झन लायक रहेको स्मरण गरे । थापाले भनेः केपी ओलीसँग एउटै सरकारमा रहेर काम गर्ने अवसर पाएको थिएँ । हामीले भारतले गरेको नाकाबन्दीलाई परास्त गर्न सफल भयौँ ।

थापाले ओलीले सरकारमा रहेका बेला गरेका गरेका दुई वटा कामका लागि ओलीलाई सधैँ देशले सम्झिने बताए । मधेशमा देखा परेको पृथकताबादी आन्दोलन र विप्लवलाई शान्तिपूर्ण वार्तामा ल्याउने काम ओली गरेको उनले बताए । थापाले लिम्पियाधुरा लिपुलेकसहितको नक्सा ल्याएर ओलीले देशलाई गुन लगाएको समेत बताए ।

थापाले चुच्चे नक्सा बनाएर नेपाल र नेपालीलाई गुन लगाएकोले राष्ट्रवादी शक्ति एमालेले जित्नुपर्ने बताए । अहिलेको निर्वाचन भनेको विदेशीको इसारामा चल्ने कठपुतली सरकार बन्नबाट रोकेर राष्ट्रवादी सरकार गठन गर्ने अभिभारा एमालेको नेतृत्वमा रहेको थापाको भनाइ छ ।-khabarbreak

मुख्य समाचार राजनीति समाचार