जनजातिको मत तानेर कमल थापालाई हराउने प्रयासमा राप्रपा अध्यक्ष लिङदेन

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन ४ दिनको अन्तरालमा दुईपटक मकवानपुर आइपुगे। कात्तिक २४ गते पूर्वी मकवानपुरको चुनावी सभालाई मात्र सम्बोधन गरेर फर्किएका लिङदेन सोमबार पुनः हेटौंडा–१३ को चुनावी सभामा सम्बोधन गर्न आइपुगेका हुन्।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन ६ दिन मात्र बाँकी रहँदा अन्य दलका अध्यक्षहरू एक दिनमा ३/४ वटा जिल्लाका कार्यक्रमलाई सम्बोधन गर्न भ्याइरहेका छन् तर विकल्पको रुपमा उभिएको बताउने राप्रपाका अध्यक्ष लिङदेन दोहोर्‍याएर एउटै जिल्लामा किन आए? भन्ने जिज्ञासा आम मतदातामा उब्जिएको छ।

मकवानपुरमा दुईवटा निर्वाचन क्षेत्र छन् र दुवै निर्वाचन क्षेत्रमा राप्रपाका उम्मेदवार छन्। तर लिङदेन दुवैपटक मकवानपुरको निर्वाचन क्षेत्र-१ को कार्यक्रमलाई मात्रै सम्बोधन गर्न पुगे।

उक्त क्षेत्रबाट राप्रपाका दीपक सिंह उम्मेदवार छन्। के सिंहकै लागि लिङदेन ४ दिनको फरकमा दुईपटक मकवानपुर आइपुगेका हुन्?

सिंहसँगै मकवानपुर–१ बाट राप्रपाका पूर्वअध्यक्ष कमल थापा पनि उम्मेदवार भएकोले लिङदेनले उक्त निर्वाचन क्षेत्रलाई प्राथमिकता दिएका हुन्।  त्यसो नहुँदो हो त दोस्रो पटकको चुनावी सभा उनले निर्वाचन क्षेत्र-२ मा सम्बोधन गर्थे।

राप्रपालाई लामो समय हाँकेका कमल थापा लिङदेनसँग पार्टी अध्यक्षमा पराजित भएका थिए। लिङदेनसँग पराजित भएपछि पूर्वराजा ज्ञानेन्द्रको हस्तक्षेपले आफूले हारेको आरोप लगाउँदै थापाले पार्टी त्यागे।

राप्रपा त्यागेर राप्रपा नेपाल ब्युँताएका थापा हाल सिंहसँगै मकवानपुर–१ बाट प्रतिनिधिसभाको उम्मेदवार छन्। उनलाई नेकपा एमालेले समर्थन मात्रै गरेको छैन, आफ्नो चुनाव चिह्न सूर्य पनि दिएको छ।

उता, झापाबाट उम्मेदवार बनेका राप्रपाका अध्यक्ष लिङदेनलाई पनि एमालेले समर्थन गरेको छ। एउटै पार्टीको समर्थनबाट उम्मेदवार बनेका थापाको हार लिङदेनको लागि आफ्नो जीत बराबरको रहेको राप्रपाको नेताहरू बताउँछन्।

उता, झापाबाट उम्मेदवार बनेका राप्रपाका अध्यक्ष लिङदेनलाई पनि एमालेले समर्थन गरेको छ। एउटै पार्टीको समर्थनबाट उम्मेदवार बनेका थापाको हार लिङदेनको लागि आफ्नो जीत बराबरको रहेको राप्रपाको नेताहरू बताउँछन्।

चुनावी सभालाई दोस्रोपटक सम्बोधन गर्न सोमबार हेटौंडा आइपुगेका लिङदेनले कमल थापालाई लक्षित गर्दै भने‚ ‘तपाईंहरूले पटक पटक आफ्नो क्षेत्रबाट कांग्रेसलाई पठाउनु भएको छ, कम्युनिष्टलाई पठाउनु भएको छ। हाम्रो एकजना दाइ पनि यतातिर उठेको होइन? एकजना हामीसँग फुटेको दाई हुनुहुन्थ्यो नि! उहाँ पनि यतैबाट उठेको होइन? हाम्रो दाइ पनि यतैबाट उठ्नु भएको छ, उहाँलाई पनि तपाईंहरूले जिताएर पठाइसक्नु भएको छ। जितेर गएर उहाँहरूले तपाईंहरूका लागि के गर्नुभयो?’

लिङदेनले पटक पटक फेल भएको मान्छेलाई कतिपटक भोट दिने भन्दै प्रश्न गरे। उनले आफू ५ वर्षसम्म संसदमा एक्लै भएको भन्दै साथी खोज्न हेटौंडा आइपुगेको बताए।

‘म साथी खोज्दै आएको मान्छे हो। मेरो आग्रह छ, एकपटक दिपक सिंहलाई संसदमा पाइला टेकाइदिनुस्। राजेन्द्र लिङदेनले ५ वर्ष संसदमा निर्वाह गरेको भूमिकाको बारेमा, भ्रष्टाचार र राष्ट्रियताको बारेमा गरेको प्रयास सबै तपाईंहरूले बुझ्नु भएको छ नि होइन? छ भने म संसदमा एक्लै भएँ मलाई साथी चाहियो‚ दीपक सिंह जस्तो मान्छे पठाइदिनुहोस्’, उनले भने।

करिब आधा घण्टा चुनावी सभालाई सम्बोधन गरेका उनले पटक–पटक दीपक सिंहलाई जिताएर पठाउन आग्रह गरिरहे। तर दीपक सिंहसँगै मञ्चमा बसिरहेका मकवानपुरको निर्वाचन क्षेत्र-२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजन मैनाली र सिंहसँगै मकवानपुर–१ (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार गुञ्जन बहादुर न्यौपानेको नाम उनले उच्चारण नै गरेनन्।

सिंहका लागि मत मागेर नथाकेका लिङदेनले उनकै क्षेत्रबाट उम्मेदवार बनेका न्यौपाने र अर्को क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका मैनालीको लागि भोट माग्नु त परेको कुरा नामसमेत लिएनन्।-thahakhabar

मुख्य समाचार राजनीति समाचार समाज