ओली शक्तिमा आउनासाथ लोकतन्त्रलाई लात्तले हाने : प्रचण्ड

पर्वत : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुकेर गणतन्त्रको विरोध गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले शक्तिमा पुगेपछि लोकतन्त्रलाई लात्तले हानेको आरोप लगाएका छन्।

लोकतान्त्रिक–बाम गठबन्धन लमजुङद्वारा लमजुङको राइनासमा आयोजित चुनावी कोणसभामा उनले नेपाली काँग्रेस र माओवादी मिलेर समावेशी सिद्धान्तसहित गणतन्त्र ल्याएको भए पनि एमाले गुटको नेतृत्वले शक्तिमा आएपछि संविधान च्यात्ने, लोकतन्त्रलाई लात्तले हान्ने, राज्य संयन्त्र कब्जामा लिएर हिटलरको शासन चलाउन खोजेको आरोप लगाए।

‘एमाले गुटको नेतृत्व झुटा कुरा गर्ने, बेइमानी गर्ने। नजिकै कालको मुखमा पसेर आएको म त। मैले सोचेँ संविधान नि बन्यो‚ केपी ओलीले नि हस्ताक्षर गरे, मान्याछन्, अब त के भो र? वामपन्थी मिले सजिलो होला भनेर म आफैँले प्रस्ताव राखेको त बसेको दिनदेखि नै धोका, बेइमानी र षडयन्त्र,’ प्रचण्डले भने, ‘पहिला–पहिला ओलीले भन्थे संविधानसभा नेपालमा हुनै सक्दैन, गणतन्त्र आउनै सक्दैन, यो समावेशी समानुपातिक हुनै सक्दैन तर भयो। काँग्रेस र माओवादीसमेत मिले त्यति वेला। एमालेका माधवकुमार नेपालले पनि मानेपछि गणतन्त्र आयो। केपी ओली बाध्य भएर हाम्रो पछि लागे। अब त सच्चिए होलान् भनेको त के को हुन्थ्यो? उनी त लुकेर मौकाको ताकमा बसेका रछन्।’

ओलीले राज्यका सबै संरचनालाई आफ्नो नियन्त्रणमा लिने र संसद् नै विघटन गरेर हिटलर जस्तै शासन चलाउन खोजिरहेको वेला गठबन्धनसहित आम नागरिक र अधिकारवादीहरूको खबरदारीले संविधानको रक्षा गर्न सकिएको दाबी प्रचण्डले गरे।

७० वर्षको सङ्घर्षबाट आएको संविधानलाई च्यात्ने गठबन्धनलाई परास्त गर्नकै लागि वर्तमान सत्तारुढ गठबन्धन बनेको उनको भनाई छ।

लोकतन्त्रमा निर्वाचन आउनु जानु सामान्य कुरा भए पनि आगामी मंसिर ४ गतेको निर्वाचन जनता लोकतन्त्रको पक्षमा छन् कि निरंकुशताको पक्षमा छन् भन्ने कुराको जनमत संग्रह हुने उनले बताए।

सङ्घर्ष र बलिदानबाट स्थापित जनताका अधिकार ध्वस्त बनाउन खोज्ने शक्तिलाई निर्वाचित गरेर गल्ती नगर्न उनले सबैसँग अनुरोध गरे।

‘यो गठबन्धन विशिष्ट प्रकृतिको छ। ७० वर्ष लडेर ल्याएको संविधानमाथि प्रहार भएपछि संविधान, राष्ट्र र जनताको बलिदानको रक्षाको लागि गठबन्धन बनेको हो। देशलाई निरंकुशतामा धकेल्नेहरूलाई परास्त गर्नकै लागि भनेर गठबन्धन बनेको हो,’ प्रचण्डले भने, ‘गठबन्धन बनेर सडक र हरेक ठाउँबाट प्रतिवाद नगरेको भए फेरि ठूलो सङ्घर्ष गर्ने अवस्था आउने रहेछ। अब जनताको अधिकार खोस्नेलाई जिताएर फेरि पनि अधिकार खोस्न पठाउने कि संविधानको रक्षा गर्नेलाई जिताउने? यो अहिलेको जनमत संग्रहले देखाउनुपर्छ।’

काँग्रेसका कार्यकर्ताहरूलाई भाषणबाटै भावुक र गठबन्धनप्रति विश्वास दिलाउने गरी भनाई राखेका प्रचण्डले विस्तृत शान्ति सम्झौताको सन्दर्भमा नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई पनि सम्झिए।

‘विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर नगरेको भए, युद्ध चर्किँदै गएको भए के हुन्थ्यो होला? त्यसमा काँग्रेस र माओवादी मिलेर नै शान्ति शुरु भएको थियो,’ उनले भने, ‘आमनेसामने भएका यी दुई पार्टी मिलेकै कारण देशमा शान्ति स्थापना भएको हो। त्यो नभएको भए १७ हजार होइन, ५० औँ हजारको ज्यान जान्थ्यो होला। एक पक्षले जित्ने अवस्था थिएन, दुवै बराबर भए। त्यसो हुँदा देश असफल बन्थ्यो, शान्ति स्थापना गर्न विदेशी सेना आउनुपर्ने अवस्था हुन्थ्यो। गिरिजा र मेरो हस्ताक्षरले नेपाल असफल राष्ट्र हुनबाट जोगियो।’

प्रचण्डले शान्ति प्रक्रियाका केही कामहरू बाँकी नै रहेको र गठबन्धनले जितेपछि ती समस्याको समाधान गरिने आश्वासन पनि दिएका छन्।

बेपत्ता भएका तथा पीडितहरूलाई राज्यका तर्फबाट दिने सुविधाको बारेमा हुने निर्णय गठबन्धनले अन्तिम अवस्थामा पुर्‍याएको भन्दै उनले त्यो विधेयकले द्वन्द्वपीडित राजनीतिक दल, सुरक्षाकर्मी र माओवादी सबैलाई बराबर न्याय गर्नेमा विश्वास गर्न अनुरोध गरे।

‘त्यो विधेयक संसदमा लगेका छौँ। एमालेको विरोधका कारण गएको संसदमा त्यो विधेयक पास हुन पाएन। अब गठबन्धनको सरकार बन्नासाथ विधेयक पास गरेर युद्धको घाउमा मलहम लगाउने छौँ,’ उनले भने, ‘समावेशी सहभागिता, जनताका अधिकारलगायत संविधानमा रहेका व्यवस्था खोस्ने प्रयास भएकोले मनमा शङ्का नराखी गठबन्धनलाई विजयी गराउनुपर्छ। गठबन्धनको एकमात्र एजेन्डा सुशासन हो। गठबन्धनले जितेपछि विकास, निर्माण र समृद्धिबाट आर्थिक प्रगति हुनेछ।’

मुख्य समाचार राजनीति