राजनीतिमा धनको हावी भए युवाको भविष्य समाप्त हुन्छ : हृदयेश त्रिपाठी

काठमाडौं :  पूर्वमन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले धनको आडमा राजनीति गर्दा राज्यमा निरङ्कुश र तानाशाही प्रवृत्ति हावी हुने बताएका छन्।

नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं. १ अन्तर्गत बर्दघाट नगरपालिकाको वडाहरूमा भएको संयुक्त भेला तथा घरदैली चुनावी अभियानका क्रममा भेलालाई सम्बोधन गर्दै उनले राजनीतिमा धनको हावी भएमा युवाहरूको राजनीतिक भविष्यसमेत समाप्त हुने जिकिर गरे।

उनले आफू जीवनको अन्तिम पटक निर्वाचन लड्दै गरेको भन्दै अन्तिम पटक मतदातासँग भिक्षा मागेको बताए। अध्यक्ष त्रिपाठीले आफूले मागेको भिक्षा निर्वाचन क्षेत्रका जनताको प्रतिष्ठा, इज्जत, स्वाभिमान र सम्मानका लागि भएको बताए।

त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार पुण्यप्रसाद पौडेलले पनि उद्योगपति चौधरीलाई लक्षित गर्दै धनको बलमा मतदाता बिक्री नहुने बताए। चौधरीले चुनाव जित्नकै लागि सिजी नेटदेखि लिएर फाउण्डेसनको नाममा अनुदानसमेत दिँदै हिडेको आरोप लगाउँदै उनले आचारसंहिता उल्लघंन भएको बताए।

प्रदेश सभा सदस्य उम्मेदवार पौडेलले उद्योगपति चौधरी जस्ता धनाढ्यको जितले भविष्यमा देशका राजनीतिकर्मीहरू पलायन हुनुपर्ने स्थिति आउने दाबी गरे। उनले जनताहरूले चौधरीलाई पाहुनाको रुपमा मात्र चिनेको भन्दै चुनाव नजित्ने दाबी गरे।

मुख्य समाचार राजनीति