कांग्रेस-माओवादीको संयुक्त अपिल : भ्रम फैलाउनेको उम्मेदवारी खारेजी होस्

काठमाडौं : सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मतदानको मुखैमा सामाजिक सञ्जालमा भएका भ्रमपूर्ण गतिविधिबारे आपत्ति जनाएका छन्। 

शनिबार दुई दलका मुख्य सचिवद्वय श्रीराम ढकाल र कृष्णप्रसाद पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै मिडियाको दुरुपयोग गरेर नेपाली कांग्रेस र माओवादी केन्द्रबीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाप्रति दुवै पार्टीको गम्भीर ध्यानाकर्षण जनाएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो। नेपाली कांग्रेस र माओवादी केन्द्र लगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैप्रति घात हुने कल्पनासमेत गर्दैनन्।’

उनीहरूले निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्त्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको उल्लेख गरेका छन्। 

‘यो दुराशयपूर्ण सूचना हो भन्ने जान्दाजान्दै केही राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवं उम्मेदवार समेतले स्थिर अवधिको मूल्य मान्यताविपरीत सामाजिक सञ्जालमा शेयर गर्नु निर्वाचन अपराध समेत हो। यस्तो सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई निर्वाचन अपराधका रूपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कारबाहीका लागि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँछौँ,’ विज्ञप्तिमा भनिएको छ।

मुख्य समाचार राजनीति