मकवानपुर । भोलि हुने आमनिर्वाचनमा जिल्लामा ३ लाख ७ हजार ३३ मतदाता सहभागी बन्दैछन् ।
प्रत्यक्षतर्फ २ संघीय क्षेत्र र प्रदेशतर्फ ४ क्षेत्र रहेको जिल्लाको निर्वाचनमा ३ लाख ७ हजार ३३ जना मतदाता सहभागी हुन लागेका हुन् ।
निर्वाचनमा १ लाख ५३ हजार ५२८ पुरुष, १ लाख ४७ हजार २ सय महिला र अन्य ५ जना गरी तीन लाख ७३३ मतदाता सहभागी हुन लागेका हुन् ।
जसमा १ नम्बर क्षेत्रको १ क मा ७७ हजार ९८९ जना र ख मा ७२ हजार १६६ जना मतदाता रहेका छन् भने २ को क मा ८३ हजार ०९९ जना र ख ६७ हजार ४७९ जना मतदाता रहेका छन् ।
बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणम पुगेको छ । निर्वाचनको लागि कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकहरु मतदान केन्द्रमा पुगिसकेको कार्यलयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरीसहित जिल्लामा ४५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
१६७ वटा निर्वाचन स्थल र ३६४ वटा मतदान केन्द्र रहेको जिल्लामा अस्थायी मतदाताका लागि भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालयलाई अस्थायी मतदान मतदान केन्द्र तोकिएको छ ।
जिल्लामा अस्थायी मतदाता नामावलीमा नाम भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएका बाहेक अन्य कैदी बन्दीलगायतका लागि २ अस्थायी मतदान केन्द्र कायम गरिएको हो ।