१५ घण्टादेखि झलनाथ खनालको क्षेत्रमा मतगणना स्थगित

इलाम : कर्मचारीले जानकारी नदिई मतपेटिका खोलेको भन्दै नाराबाजीपछि रोकिएको पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम–१ को मत गणना अझै शुरु भएको छैन।

१४ घण्टादेखि मत गणना हुन सकेको छैन। १० बजे सर्वदलीय बैठक बसेर विवाद समाधान गर्ने भनिए पनि भर्खरैमात्र बैठक शुरु भएको छ।

इलाम–१ मा १ लाख ९ हजार ५३५ मतदाता भए पनि ५९ हजार ९०६ मत मात्र खसेको थियो। मंगलबार राति ८ बजेसम्म २३ हजार ८६४ मत गणनाको नतिजा सार्वजनिक हुँदा एमालेका महेश बस्नेतले १ हजार ५०७ मतले अग्रता बनाइरहेका छन्।

बस्नेतले १० हजार २८७ मत ल्याउँदा खनालले ८ हजार ७८० मत ल्याएका छन्। प्रदेशसभाको २ वटै क्षेत्रमा गठबन्धनले अग्रता बनाइरहेको छ।

इलाम क्षेत्र १ को प्रदेशसभा (क) मा सत्ता गठबन्धन नेकपा एकीकृत समाजवादीकी खिनु लङ्वा लिम्बुले ५ हजार ५७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शोभा पराजुलीले ४ हजार ४०२ र इलाम क्षेत्र १ को (ख) मा नेपाली कांग्रेसका शम्शेर राईले अग्रता बनाइरहेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिपककुमार थेवेले ५ हजार ४५१ मत ल्याउँदा राईले ५ हजार ६४६ मत ल्याएका छन्।

मुख्य समाचार राजनीति समाचार