क्रोएसियालाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश


२८ मंसिर- दुईपटक विश्वकप विजेता बनेको अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराती भएको सेमिफाइनल खेलमा क्रोएसियालाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

गएराती भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियान अल्भारेजले दुई र लियोनल मेस्सीले एक गोल गरे। ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै मेस्सीले अग्रता दिलाएका थिए। ३९ औं मिनेटमा अल्भारेजले आफ्नै क्षेत्रबाट बल अगाडि बढाएर सिक्स यार्ड सर्कलबाट गोल गरेका थिए। ६९ औं मिनेटमा मेस्सीको शानदार असिस्टमा अल्भारेजले अर्जेन्टिनालाई ३–० गोलले अगाडि बढाएका थिए।

अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीच हुने अर्को सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। सन् १९८६ को विश्वकप विजेता अर्जेन्टिना छैटौँपटक विश्वकपको फाइनलमा पुगेको छ।

अर्जेन्टिना फाइनल पुगेसँगै सातपटकका फिफा वर्ष खेलाडी मेस्सीको विश्व च्याम्पियन बन्ने सपना कायमै रहेको छ। सन् १९३० मा आयोजित पहिलो विश्वकपमा फाइनल पुगेको अर्जेन्टिना त्यसपछि सन् १९७८, १९९० र २०१४ मा पनि फाइनल पुगेको थियो। सन् १९३०, १९९० र २०१४ मा उपविजेतामा सिमित भएको थियो।

खेलकुद मुख्य समाचार