अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिलाई विप्लवको आग्रह

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले सिफारिश गरेको अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिसँग माग गरेको छ।महासचिव विप्लवले मंगलबार विज्ञप्ति जारी गर्दै तीनबुँदे सहमतिप्रति पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यादेशलाई स्वीकृति प्रदान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्। 

‘नेपाल सरकारले हाम्रो पार्टीसँग भएको तीनबुँदे सहमतिअनुसार नेता तथा कार्यकर्ताहरूमाथि लागेका सम्पूर्ण मुद्दाको खारेजी तथा बन्दी नेता–कार्यकर्ताहरूको रिहाइका लागि मंसिर २५ गतेको मन्त्रिपरिषद्को बैठकबाट अध्यादेशबारे निर्णय गरी प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपतिसमक्ष पेश गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पाटीसँगको छलफल एवं सहमतिको मर्मअनुरुप सरकारले आफ्नो जिम्मेवारीस्वरुप अध्यादेश पेश गर्नु स्वागतयोग्य कुरा हो। तीनबुँदे सहमतिप्रति हाम्रो पार्टी प्रतिबद्ध रहेको साथै सरकारले पनि समस्याहरूलाई सकारात्मक रुपले निकास दिन गरिरहेको पहललाई मनन गर्दै संवैधानिक राष्ट्रप्रमुख सम्माननीय राष्ट्रपतिज्यूले पनि अध्यादेशलाई स्वीकृति प्रदान गर्नेमा पार्टी विश्वस्त छ।’

विज्ञप्तिमा सरकारले पेश गरेपश्चात सरकारको नेतृत्व गरिरहेको पार्टी कांग्रेसका कतिपय नेता र एमालेका नेताहरूले विरोध गरेको सुन्दा आफूलाई आश्चर्य लागेको विप्लवले उल्लेख गरेका छन्। ‘कुनै पनि जिम्मेवार नेताले देशका राजनीतिक समस्याहरूलाई यथाशीघ्र समाधान गर्न अग्रगामी पहल गर्नुको सट्टा सरकारले गरेको पहलमा समेत बाधा अवरोध खडा गर्नु भनेको गम्भीर समस्याको विषय हो’, विज्ञप्तिमा भनिएको छ।

उनले सबै पार्टीका नेता, कानुनविद् र मानव अधिकारवादीहरू लगायत सबैलाई यसतर्फ सचेत बन्न र सहमति कार्यान्वयनको विषयलाई गम्भीरतापूर्वक लिन आग्रह पनि गरेका छन्।  

मुख्य समाचार राजनीति समाचार