विद्युत् प्राधिकरणले नेपालगञ्ज क्षेत्रमा प्रसारण र वितरण सञ्जाल निर्माण गर्ने

Toggle navigation

विद्युत् प्राधिकरणले नेपालगञ्ज क्षेत्रमा प्रसारण र वितरण सञ्जाल निर्माण गर्ने

जनपत्र

२६ मंसिर २०७९, सोमबार १३:०५

facebook sharing button
twitter sharing button
messenger sharing button
email sharing button
sharethis sharing button

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगञ्ज तथा कोहलपुर  क्षेत्रको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन प्रसारण र वितरण प्रणालीका  पूर्वाधारहरुको सञ्जाल निर्माण गर्ने भएको छ ।

प्राधिकरणले नेपालगञ्ज तथा कोहलपुर र त्यस आसपासका क्षेत्रहरुमा सन् २०५० सम्म वृद्धि हुन सक्ने विद्युतकाे सम्भावित माग प्रक्षेपण गरी यस मागलाई धान्ने गरी भरपर्दो र विश्वसनीय विद्युतीय भार वहन गर्ने उच्चस्तरका प्रसारण तथा वितरण लाइनतर्फका पूर्वाधार संरचना चरणबद्ध रुपमा बनाउने छ ।

नेपालगञ्ज तथा कोहलपुर र त्यस आसपासका क्षेत्रहरुमा भइरहेको सहरीकरण र औद्योगीकरणका आधारमा सन् २०५० भित्रमा त्यस क्षेत्रको विद्युत् भाग करिब ८ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । देशभित्र उत्पादित विद्युत् आन्तरिक रुपमै खपत बढाउन र पर्याप्त, भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्तिका लागि नेपालगञ्ज क्षेत्रमा प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार र सुदृढीकरण गर्न लागिएको हो ।

विद्युत् आपूर्तिको तत्कालको समस्या समाधान गर्न अहिले सञ्चालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरुको सुदृढीकरण/स्तरोन्नति र विस्तार गरिने छ । दीर्घकालीन मागलाई सम्बोधन गर्न र विद्युत् खपत बढाउन ४००, २२० र १३२ केभीका उच्च क्षमताका प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण गरिने छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा प्राधिकरणको उच्चस्तरीय टोलीले शनिवार र आइतवार नेपालगञ्ज क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी विद्यमान प्रसारण र वितरण लाइन तथा सबस्टेसनहरुको स्तरोन्नति/सुदृढीकरणका लागि तत्काल गर्नु पर्ने कामका बारेमा जानकारी लिएको छ ।

परामर्शदातासमेत सम्मिलित टोलीले भविष्यको विद्युत् मागलाई सम्बोधन गर्न बनाउनु पर्ने नयाँ लाइन तथा सबस्टेसनहरू निर्माणस्थल, रुटको पहिचानलगायतका विषयमा स्थलगत रुपमा अनुगमन गरेको थियो ।
प्राधिकरणले अब यही आधारमा तत्काल र दीर्घकालीन रुपमा गर्नु पर्ने योजना तयार गरी त्यही आधारमा प्रसारण र वितरण लाइन र सबस्टेसनहरुको निर्माण अगाडि बढाउने छ ।

कार्यकारी निर्देशक घिसिङले उपभोक्ताहरुले बेहोर्दै आएको तत्कालको समस्या समाधान गर्न ११ तथा ३३ केभी लाइन तथा सबस्टेसनको सदृढीकरण र विस्तार गरिने बताउनुभयो । ३३ र ११ केभी लाइन सुधारका लागि आवश्यक काम भइरहेको कार्यकारी निर्देशक घिसिङले प्रष्ट पार्नुभयो ।

अहिले चालु रहेका प्रसारण तथा वितरण प्रणालीले गर्मीयाममा नधान्दा नेपालगञ्ज क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङ, भोल्टेज डाउनलगायतका समस्या उपभोक्ताहरुले बेहोर्दै आएका छन् । प्राधिकरणले कोहलपुरमा १३२ केभीको नयाँ सबस्टेसन निर्माण गर्न लागेको छ । सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गरिसकिएको छ । अहिले निर्माण व्यवसायी छनोटका लागि बोलपत्रदाताहरुको प्रस्ताव  मूल्याङ्कन भइरहेको छ ।

यस सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनलाई नेपालगञ्जमा रहेकाे ३३/११ केभी सबस्टेसनलाई विस्तार गरी १३२ केभी बनाएर लाइन छिराउने योजना बनाएको छ । अहिले नेपालगञ्जमै रहेको अर्को ३३/११ केभी सबस्टेसनको पनि क्षमता विस्तारको काम भइरहेको छ । यसबाट नेपालगञ्ज क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने छ ।

‘भविष्यमा नेपालगञ्ज क्षेत्रमा हुने विद्युतकाे मागलाई सम्बोधन गर्न दाङको लमहीबाट राप्ती नदीको आसपासबाट बाँके, बर्दियाको मैनापोखरी हुँदै कैलालीको टीकापुरसम्म दक्षिण करिडोर ४००/२२० केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरिरहेका छौँ, साथै भारतसँगको थप विद्युत् व्यापारका लागि कोहलपुरबाट भारतको नानपारासम्म उच्च क्षमताको लाइन बनाउन लागेका छौँ,यसबाट भोल्टेज सुधार हुने छ, भविष्यमा यो क्षेत्रमा हुने बस्ती विकास र खुल्ने उद्योगहरुलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति दिन सकिने छ, बढी भएको विद्युत् निर्यात गर्न पूर्वाधारसमेत तयार हुने छ’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

‘बझाङ, दार्चुलाका जलविद्युत् र बाँकेको सौर्य आयोजनाबाट उत्पादित विद्युत् चालु आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने हुँदा गएकाे वर्षभन्दा यो वर्ष भोल्टेजको समस्या कम हुने छ ।’ अहिले त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि नजिकमा विद्युतगृहहरु नहुँदा खासगरी गर्मीयाममा भोल्टेजको समस्या रहेको छ ।

प्राधिकरणले भारतसँगको दक्षिणी सीमामा रहेकाे हुलाकी राजमार्गको समानान्तर ४०० केभीको चार सर्किट प्रसारण लाइन र सबस्टेसनहरु निर्माण गर्ने योजना अगाडि बढाएको छ । चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभीमा सञ्चालन ल्याउने गरी प्रसारण लाइन करिडोरको निर्माण गरिने छ ।

स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ठाउँ–ठाउँमा सबस्टेसनहरुको निर्माण गरिने छ । अहिले प्रस्तावित प्रसारण लाइनको रुट र सबस्टेसनहरु रहने ठाउँ तय गर्ने कामहरु भइरहेको छ । कोहलपुरबाट कर्णाली प्रदेशको सुर्खेतसम्म १३२ केभी प्रसारण लाइन निर्माणाधीन छ । सुर्खेतबाट दैलेखसम्म १३२ केभी प्रसारण लाइन निर्माण गर्न टेण्डरको प्रक्रियामा छ । दैलेखबाट जुम्लासम्म १३२ केभी लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । सबै लाइनहरु निर्माण सम्पन्न भएपछि कर्णाली नदी जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् कोहलपुर सबस्टेसनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ ।

मुख्य समाचार समाचार