संघीय सांसदको शपथपछि मुख्यमन्त्री पाण्डे भन्छन् : तत्काल राजीनामा दिन्नँ

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफू प्रतिनिधिसभाको सदस्य र मुख्यमन्त्री दुवै पदमा रहने बताएका छन्। बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहण गरेपछि पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट आफूले तत्काल राजीनामा नदिने स्पष्ट पारे।

यसअघि नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले पाण्डेले शुक्रबार पदबाट राजीनामा दिने बताएका थिए।

तर,पाण्डेले भने प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिएकोले आफूले पनि राजीनामा नदिने बताए। ‘मैले पदबाट राजीनामा दिनुपर्ने भए प्रधानमन्त्रीले पनि दिनुपर्ला। उहाँ पनि यो संसदबाट निर्वाचित भएर प्रधानमन्त्री बन्नु भएको त होइन। अघिल्लोबाट बन्नु भएको हो। उहाँको र मेरो अवस्था एउटै भएकोले मैले अहिले पदबाट राजीनामा दिएर प्रदेशलाई सरकारविहीन बनाउनुहुँदैन’ पाण्डेले भने। 

प्रधानमन्त्री त प्रतिनिधिसभामा नै निर्वाचित हुनु भएको हो तर तपाई त पहिला प्रदेशमा निर्वाचित भएको, कसरी प्रधानमन्त्रीसँग तपाईको कुरा मिल्यो ? भन्ने प्रश्नमा उनले जवाफ दिन चाहेनन्। 

उनले नेपालको संविधानले पाँच वटा अवस्थामा मात्रै मुख्यमन्त्री नरहने कुरा उल्लेख रहेको बताए।पाण्डेले भने ‘नेपालको संविधानले मुख्यमन्त्रीको पद रिक्त हुने पाँचवटा व्यवस्था गरेको छ। कि राजीनामा दिनुपर्यो, कि प्रदेशसभा सदस्य रहनु भएन, कि मृत्यु हुनुपर्यो, संसदमा विश्वासको मत प्राप्त नभएको खण्डमा र अविश्वासको प्रस्ताव पारित भएमा हो। अहिले मेरो जस्तो अवस्थामा के गर्ने भन्ने व्यवस्था संविधानमा प्रस्ट छैन। त्यसैले अहिले मैले पदबाट राजिनामा दिन आवश्यक छैन।’

उनले पुष १३ गते प्रदेशसभा सदस्यहरूको शपथग्रहण रहेको भन्दै १८/२० गते तिर प्रदेशसभाको पहिलो बैठक बसेपछि सभामुख,उपसभामुख चयनसँगै सरकार गठनको प्रक्रिया सुरु हुने बताए। पाण्डेले आफूले जतिसक्दो बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि दबाब दिएर सरकार बनेपछि मात्रै नेतृत्व छाड्ने दोहोर्याए। उनले अर्को मन्त्रिपरिषद गठन नभएसम्म आफैंले काम चलाइ रहनुपर्ने भन्दै प्रदेशलाई सरकारविहीन बन्न नदिने बताए। 

संविधाविद् भिमार्जुन आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर शपथग्रहणसमेत गरिसकेको अवस्थामा पाण्डेले पदबाट राजीनामा दिएको राम्रो हुने बताउँछन्।अहिलेको अवस्थाको विषयमा संविधानमा स्पष्ट उल्लेख नभएको भन्दै उनले पाण्डेले राजीनामा दिएको राम्रो भए पनि प्रदेशलाई सरकारविहीन पनि बनाउन नमिल्ने बताए। आचार्यले आफू यस विषयमा धेरै बोल्न नचाहने बताए।

मुख्य समाचार राजनीति