मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्द न्यौपानेद्वारा शपथ ग्रहण

जनकपुरधाम : मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।बिहीवार प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। अब सांसद न्यौपानेले ज्येष्ठ सदस्यका हैसियतले प्रदेशसभाको अध्यक्षता गर्नेछन्।नेकपा एकीकृत समाजवादीका नेता न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरी–४ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। भोलि शुक्रबार न्यौपानेले प्रदेशसभाका बाँकी १०६ जना सदस्यलाई शपथ खुवाउने कार्यक्रम छ।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य न्यौपानेले अन्य सदस्यलाई शपथ ग्रहण गराउने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।

नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानून बमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था रहेका छन्।यसपटक मधेश प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, जनमत पार्टी, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित १० वटा दलको प्रतिनिधित्व छ।

प्रदेश समाचार मदेश प्रदेश मुख्य समाचार राजनीति