बागमतीमा ५ अध्यादेश पेश

हेटौंडा । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको सोमबार बसेको पहिलो बैठकमा ५ वटा अध्यादेशहरु पेश भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको तर्फबाट आन्तरिक मामिला तथा काकूमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाको शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्थान गर्न बनेको अध्यादेश, २०७९ प्रस्तुत गरेका छन् । 
यसैगरी, स्वास्थ्यमन्त्री निमा लामाको तर्फबाट सँस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश, कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईले प्रदेश कृषि सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ प्रस्तुत गरेका छन् ।
सोमबारको बैठकले प्रदेशसभाका सभामुखको निर्वाचनको मिति समेत तय गरेको छ । प्रदेशसभाको यही पुस २९ गते ११ बजे बस्ने बैठकले सभामुख चयन गर्ने छ । सोमबारको बैठकले प्रदेशसभाका सभामुखको निर्वाचन पुस २९ गते विहान ११ बजे गर्ने तय गरेको हो । 
प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको प्रदेशसभाको बैठकले उक्त निर्वाचनको लागि प्रदेशसभा सचिवालय हेटौंडाका सचिव कृष्णहरी खड्कालाई आवश्यक प्रक्रिया अगाडी बढाउन जिम्मेवारी दिएको छ । बैठकले सभामुख र उपसभामुख मध्ये एक जना महिला हुनु पर्ने संवैधानीक व्यवस्था अनुसार पहिले सभामुखको निर्वाचनको तयारी गरेको हो । उक्त निर्वाचनको लागि आगामी पुस २८ गते मनोनयन उम्मेदवारी दर्ता गर्ने समयको निर्धारण गरिएको सचिव खड्काले जानकारी दिए । 
यसैगरी बागमती प्रदेशसभामा सभामुख र उपसभामुखको अनुपस्थितीमा बैठक अध्यक्षता गर्ने गरि ५ जना सदस्य मनोनित गरेको छ । प्रदेशसभाको नियमित बैठक संचालनको क्रममा सभामुख र उपसभामुख अनुपस्थितीमा प्रदेशसभाका सदस्य उर्मिला नेपाल (नेपाली कांग्रेस), भारती पाठक (नेकपा एमाले), लक्ष्मी घिमिरे (राप्रपा), डा. राजेन्द्रमान श्रेष्ठ (एकीकृत समाजवादी) र ठाकुर प्रसाद ढकाल (नेकपा माओवादी केन्द्र)लाई मनोनित गरिएको हो । 
 

प्रदेश समाचार बागमती प्रदेश