बागमती प्रदेशको सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक

हेटौंडा । बागमती प्रदेश सभाका सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ ।

सोमबार बसेको प्रदेश सभाको पहिलो बैठकले सभामुखको चयनका लागि यही पुस २९ गते शुक्रबार बिहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।

प्रदेश सभा सचिवालयका सचिव कृष्ण हरि खड्काका अनुसार सभामुखको निर्वाचनका लागि २८ पुसमा मनोनयन दर्ताको लागि बिहान १०ः३० देखि दिउँसो २ बजेसम्म, मनोनयन फिर्ताको समय सोहि दिन दिउँसो २ः३० देखि ३ः३० बजेसम्म रहने छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन अपराह्न ४ बजे गरिने कार्यतालिका रहेको छ । सभामुखको निर्वाचन पुस २९ गते शुक्रबार ११ बजे बस्ने प्रदेश सभा बैठकमा हुनेछ ।

१ सय १० जना प्रदेश सांसद रहेको बागमतीमा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादीका २१ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेपाल मजदुर किसान पार्टीका ३ जना, हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।-khabarbreak

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार