स्कार्पिओको ठक्करबाट १ को मृत्यु, २ घाइते

बारा : बारामा स्कार्पिओको ठक्करकबाट एकजनाको मृत्यु भएको छ भने २ जना महिला घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गको पसाहा पुल नजिकै भएको दुर्घटनामा स्कुटर चालक जितपुरसिमरा उपमहानगर-१६ का ४० वर्षीय राजेन्द्र माझीको मृत्यु भएको हो।जितपुरसिमरा उपमहानगर-१६ पसाहापुल नजिकै टागिया बस्तीबाट पिलुवातर्फ जाँदै गरेको साइकल र प्र.२–०३–००२ प ४५८७ न.को स्कुटीलाई सोही दिशातर्फ जाँदै गरेको ग २ च ४४१३ न.को स्कार्पिओले पछाडिबाट ठक्कर दिएको थियो।

तरकारी बेच्न जाँदै गरेका माझीलाई अनियन्त्रित स्कार्पिओले ठक्कर दिएको हो। बिहीवार बिहान सवा ७ बजे ठक्करबाट गम्भीर घाइते भएका माझीको उपचारका क्रममा अल्पाइन हस्पिटल सिमारामा पौने ८ बजे मृत्यु भएको हो।

ठक्करबाट साइकल चालक २८ वर्षीया रूपा आले र साइकलको पछाडि बसेकी २९ वर्षीया सोनिया योन्जन घाइते भएका छन्। उनीहरूको अल्पाइन हस्पिटल सिमारामा उपचार सम्भव नभएपछि भरतपुर पठाइएको तथा ठक्कर दिने गाडी प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

समाज