प्रधानमन्त्री दाहाल विश्वासको मत माग्दै संसद्‌मा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।मंगलवार प्रतिनिधिसभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन्। उनले सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्प आफूले लिएको र त्यसलाई पूरा गर्न आफूले संसदमा विश्वासको मत मागेको पनि स्पष्ट पारे।

प्रधानमन्त्री दाहालले वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर मात्रै मुलुकमा सार्थक परिवर्तन सम्भव भएको उल्लेख गर्दै आफूले सोही बाटोबाट अघि बढ्ने नीति लिएको बताए। उनले राजनीतिक दलहरू मिल्दा मुलुक अघि बढेको र नमिल्दा संकट सामना गर्नुपरेको तथ्य पनि स्मरण गराए।

प्रधानमन्त्री दाहालले भने, ‘म यो सार्वभौम संसदमा सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्पसहित प्रधानमन्त्रीमा विश्वासको मत माग्न उपस्थित भएको छु। प्रधानमन्त्रीका रूपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउन प्रतिबद्ध छु। यो देशमा जति पनि सार्थक परिवर्तन भएका छन्। वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर भएका छन्। ११२ बुँदे समझदारी विस्तृत शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र हामीबीचको सहकार्यकै परिणाम हो। राष्ट्रिय संकटका संवेदनशील क्षणमा पनि हामी राजनीतिक शक्ति एकै ठाउँमा उभिदै आएका छौं। हामी मिल्दा देश अघि गएको छ। नमिल्दा देश संकटतिर गएको छ।’

प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो कार्यकाल सोचेजस्तो नभएको, दोस्रो कार्यकालमा केही गरेको र तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्प लिएकाले त्यसमा साथ दिन पनि प्रतिनिधिसभाका सांसदहरूलाई आग्रह गरे।   

मुख्य समाचार राजनीति समाचार