संसद विघटनबारे देउवालाई ओलीको व्यंग्य : झन् गुरु मानेँ, मैमाथि हमला !

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको संसद विघटन सही भएको दाबी मंगलबारको संसद बैठकमा पनि पेश गरे।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्नसक्ने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण गरेपछि ओलीले फेरि संसद विघटन सही भएको जिकिर गरेका हुन्।  

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्न सकिने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताए। अहिले संविधानको रक्षा नै चुनौती बनेको भन्दै आफूहरूले सरकारलाई समर्थन दिने निर्णय गरेको देउवाको भनाइ थियो।

‘लगत्तै सम्बोधन गरेका ओलीले देउवालाई मौका अनुसार व्याख्या नगर्न आग्रह गरे। ‘गुरुजी, २०५८ सालमा संसद विघटन गरी मध्यावधि गरेर असोज १८ र माघ १९ पुगेको होइन ?’ उनले भने, ‘मैले त्यस्तो बहस नै गर्न खोजेको होइन तर मेरा मित्रलाई म सोध्न चाहन्छु, यहाँले होइन संसद विघटन गरेको ? झन् गुरु मानेँ अनि प्रतिगमन भनेर मै माथि हमला?’ 

देउवाले तत्कालीन ०४७ को संविधान अनुसार विघटन गरे पनि अहिलेको संविधानमा संसद विघटनको परिकल्पना गरिएको छैन। ओलीले दुई पटक गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरिदिएको थियो।   

 

मुख्य समाचार राजनीति समाचार