‘विश्वासको मत दिँदैमा सत्तापक्ष हुने कहाँको व्याख्या हो?’

 नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई विश्वासको मत दिँदैमा सत्तापक्ष नहुने बताएका छन्। पार्टी कार्यालय मीनभवनमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले २०५१ सालमा पनि एमाले नेतृत्वको अल्पमतको सरकारलाई कांग्रेसले विश्वासको मत दिएर प्रतिपक्षमा बसेको बताए। 

‘कसैकसैले सरकारलाई विश्वासको मत दिएपछि त सत्ताधारी पार्टी हुन पुग्छ भनेको पनि सुनियो, कहाँको व्याख्या हो यो? २०५१ सालमा हाम्रो पार्टी (एमाले) सरकारमा थिायो। म उपप्रधानमन्त्री थिएँ। अहिले एमालेकै नेता गृहमन्त्री हुनुहुन्थ्यो’, नेपालले भने, ‘त्यति बेला अल्पमतको सरकारलाई कांग्रेसले के गरेको थियो भन्ने स्मरण गर्नुपर्दैन? अल्पमतको सरकारलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बसेको थियो । कांग्रेसले विश्वासको मत नदिएको भए संसद विघटन हुने अवस्था थियो।’एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार संसदमा बोल्दै विश्वासको मत दिने तर सरकारमा नजाने भनेपछि राप्रपा र कांग्रेस एकै अर्थात् सत्तापक्ष भएको टिप्पणी गरेका थिए। 

अध्यक्ष नेपालले आफूहरूले १५ बुँदे सर्तसहित सरकारलाई विश्वासको मत दिएको पनि बताए। 

मुख्य समाचार राजनीति