सुदूरपश्चिमका मुख्यमन्त्री र २ मन्त्रीले सम्हाले पदभार

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका दोस्रो कार्यकालका दोस्रा नवनियुक्त मुख्यमन्त्रीले पदभार सम्हालेका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख देवराज जोशीबाट शुक्रबार शपथग्रहण गरेपछि पदभार सम्हालेका हुन्।

उनले आजै नियुक्त गरेका २ मन्त्रीहरूले पनि पदभार सम्हालेका छन्। मन्त्रीद्वय प्रकाशबहादुर देउवा र नरेश शाहीले पदभार सम्हालेका हुन्। देउवाले भौतिक पूर्वाधार विकास मन्त्रालय र शाहीले आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार सम्हालेका हुन्।

नेपाली कांग्रेस संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। यसअघिका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका हुन्।

उनले ३० दिनभित्र प्रदेशसभा बैठकबाट विश्वासको मत लिनुपर्ने हुन्छ। मन्त्री नियुक्त नेपाली कांग्रेसका देउवा कैलाली-५ को २ बाट निर्वाचित भएका थिए भने अर्का मन्त्री शाही बाजुरा-२ बाट निर्वाचित भएका थिए।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादीका ११ (सभामुखसहित), एमालेका १० (उपसभामुखसहित), नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ जना सांसद छन्। विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ।

प्रदेश समाचार मुख्य समाचार राजनीति सुदूरपश्चिम प्रदेश