लुम्बिनी प्रदेश : मन्त्रीहरूले लिए शपथ

दाङ : लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन्। मुख्यमन्त्री लिला गिरीले नियुक्त गरेका मन्त्रीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका थिए।

दाङको राप्ती गाउँपालिका गौरीघाटमा आयोजित समारोहमा प्रदेश प्रमुख शेरचनले शनिबार नियुक्त भएका ७ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए। एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट १/१ जना मन्त्री नियुक्त भएका छन्।

माओवादी केन्द्रबाट आर्थिक मामिलामन्त्रीमा जोखबहादुर महरा, भौतिक पूर्वाधार विकासमन्त्रीमा इन्द्रजित थारू नियुक्त भएका हुन्। माओवादी केन्द्रबाट एक महिनासम्म विना विभागीय मन्त्री बनेकी कृष्णा केसीले आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन्।

एमालेबाट स्वास्थ्यमन्त्रीमा विष्णुप्रसाद पन्थी, वन तथा वातावरणमन्त्रीमा दुर्गाप्रसाद चौधरी, कृषि तथा भूमि व्यवस्थामन्त्री तुलसीराम शर्मा नियुक्त भएका हुन्। मुख्यमन्त्री गिरीसँगै एमालेका चेतनारायण आचार्यले पनि एक महिनापछि मन्त्रालय सम्हालेका छन्। उनले खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

राप्रपाबाट जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री र जनमत पार्टीबाट सामाजिक विकास मन्त्रीमा चन्द्रकेश गुप्ता नियुक्त भएका हुन्।

सरकारलाई समर्थन गरेको जसपा, नाउपा र लोसपा भने तत्काल सरकारमा नजाने भएका छन्। आइतबार दिउँसो १ बजे प्रदेशसभा भवन परिसरमा हुने भनिएको कार्यक्रम हावाहुरीले मञ्च र टेन्ट भत्काइदिएपछि २ घन्टा ढिला भएको थियो।

प्रदेशका मुख्य न्यायाधिवक्ताको पनि शपथग्रहण भएको छ। मुख्य न्यायाधिवक्तामा अधिवक्ता खुमाकान्त पौडेल नियुक्त भएका छन्।

मुख्य समाचार राजनीति समाचार