ओली र नेपाल एक ठाउँमा उभिए पनि कांग्रेसलाई असर पर्दैनः शेखर कोइराला

नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति पदमा कांग्रेसले जित्ने दाबी गरेका छन्। 

मंगलबार प्रेस युनियन सिन्धुलीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले राष्ट्रपति पद कांग्रेसले लिने र जित्ने दाबी गरेका हुन्।

‘राष्ट्रपतिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को प्रमुख भूमिका रहन्छ, हामीले माओवादीका नेताहरूसँग सल्लाह र घनिभूत छलफल गरिरहेका छौँ,’ नेता कोइरालाले भने, ‘नेपाली कांग्रेसले उक्त पदमा उम्मेदवार दिन्छ र त्यो उम्मेदवारले जित्छ तपाईँ ढुक्क हुनुस्।’

उनले राष्ट्रपति चयनको विषयले यस पटक धेरै चासो र चर्चा पाएको भन्दै पछिल्लो पटक राष्ट्रपति को बन्ने र बनाउने सवालमा केपी ओली र माधव नेपालको भेटले कांग्रेसलाई कुनै असर नपर्ने बताए। नेता कोइरालाले ओली र नेपाल मिले पनि आफूहरुले उम्मेदवारी दिने बताए। 

उनले भने, ‘ओली र नेपाल हिजो एकै दलका नेता हुन्, फेरि पनि उहाँहरू एक ठाउँमा रहने सम्भावना छ तर उहाँहरू एक भइरहँदा पनि कांग्रेसलाई कुनै असर पर्दैन। देशको पहिलो दल भएको हैसियतले कांग्रेसको उम्मेदवारले राष्ट्रपति पदमा जित्छ।’

पाँच दलीय गठबन्धन टिकाउन नसक्नुमा कांग्रेसबाट कमजोरी भएको र अब कमीकमजोरी दोहोरिन नदिने बताए। उनले दल बाहिरको व्यक्ति राष्ट्रपति पदको उम्मेदवार भए राष्ट्रिय सहमति निकाल्न सकिने बताए।

मुख्य समाचार राजनीति