हेटौंडा बजार क्षेत्रमा तारलाई भुमिगत गरिने

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रको बाहिर देखिएका तारलाई भूमिगत गर्ने भएको छ । जताभावी देखिएका तारका कारण बजार क्षेत्रको शौन्दर्य नै बिग्रीएको भन्दै उपमहानगरले मुख्य बजार क्षेत्रमा तारहरुलाई भूमिगत गर्ने निर्णय गरेको हो ।

तार व्यवस्थापनका लागि नेपाल बिद्युत प्राधिकरणलाई कार्यपालिकाको बैठकको निर्णयसँगै सिफारीस पत्र पठाउँने तयारी भएको उपमहानगरले जनाएको छ । मंगलबार बसेको उपमहानगरको २० औं कार्यपालिका बैठकले हेटौंडाको मुख्य बजार क्षेत्रको वडा नम्बर १, २, ४, १० र ५ को केहि भागका पोलमा रहेको तारलाई भूमिगत गर्ने निर्णय गरेको छ ।

बैठकले हेटौंडा उपमहानगरलाई उज्यालो शहरको रुपमा बिकास गर्नका लागि नगरका बिभिन्न ठाउँमा ‘हाइ मास्ट लाइट’ राख्ने निर्णय गरेको छ । उपमहानगरका १९ वटै वडालाई लक्षित गर्दै लाईटको व्यवस्थापनका लागि नेपाल बिद्युत प्राधिकरणसँग छलफल भैरहेको जनाएको छ ।

लाईटका लागि बिधुत प्राधिकरणसँग सामान्य सहमति बनिसकेको बताइएको छ । सहमति अनुसार ४० प्रतिशत अनुदान प्राधिकरणले दिने छ भने ६० प्रतिशत लगानी उपमहानगरले गर्ने भएको छ । पहिलो चरणमा उपमहानगरले हाइ मास्ट लाइटका लागि ६० लाख रुपियाँ बजेट छुट्याएको शहरी पुर्वाधार विकास महाशाखाका प्रमुख सत्यनारायण शाहले बताएका छन् । उनका अनुसार पहिलो चरणमा २५ वटा १० देखी १६ मिटर उचाई भएका लाईटको माग गर्ने तयारी उपमहानगरले गरेको छ ।

त्यस्तै कार्यपालिका बैठकले उपमहानगर प्रवेशको ४ स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गरेको छ । बैठकले नगरको पुर्वमा १८, पश्चिममा १९, दक्षिणमा १५ र उत्तरमा १ नम्बर वडा क्षेत्रको पाएक पर्ने स्थानमा आवत जावत गर्नेका लागि सहज हुने गरी शौचालय निर्माण गर्ने निर्णय गरेको हो । त्यस्तै न्यून आय भएका गरीव तथा बिपन्न परिवारका ६६३ जनाको निःशुल्क स्वास्थय बिमा गर्ने निर्णय गरेको छ । नगर स्तरीय स्वास्थ्य विमा लाभग्राही छनौंट समितिले २०७९ फागुन ११ गते गरेको निर्णयबाट भएको सिफारीस अनुसार उनिहरुको स्वास्थ्य बिमा गरीने निर्णय भएको प्रवक्ता सबिन न्यौपानेले बताए ।

बागमती प्रदेश मुख्य समाचार समाचार समाज