एमालेले हार्दा विकासका काम रोकिए: सांसद बर्तौला

२ बैशाख,मक्रान्चुली- नेकपा एमालेले मकवानपुरगढीमा पार्टी सुदृढीकरण तथा विस्तार अभियान २०७९ (मिसन ग्रासरुट) अन्तरगत बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मकवानपुरगढी गाउँपालिका वडा नं ६ को डुम्रेकुनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा उपस्थिति कार्यकर्ताहरुलाई सम्बोधन गर्दै मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का माननीय सांसद महेश बर्तौलाले विकासले गति लिंदै गरेको मकवानपुरगढी गाउँपालिकामा एमालेले हार्दा विकासका काममा अवरोध पुगेको धारण राख्नु भएको छ । विकासका कामले गति लिन पुनः एमालेले जित्नुपर्ने भन्दै २०८४ सालमा जित्ने गरि लाग्न कार्यकर्ताहरुलाई उहाँले आग्रह गर्नुभयो ।

मकवानपुरगढी गाउँपालिका २ वटा निर्वाचन क्षेत्रमा बाँडिएको भएपनि सिंगो गाउँपालिकाको विकासका लागि आफू सधैं लागि पर्ने सांसद बर्तौलाको भनाई रहेको छ । पालिका भित्र रहेको सामरी खोला नियन्त्रण गरि बस्ती तथा भुमि संरक्षणका लागि पालिकाका पुर्व अध्यक्ष बिदुर हुमागाईको पालामा नै डिपिआर तयार भएकाले त्यसको कार्यन्वयनमा आफुले पहल गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य एवम् मकवानपुरगढी गाउँपालिका इन्चार्ज तथा गाउँपालिकाका पुर्व अध्यक्ष बिदुर हुमागाईले गाउँपालिकाले वर्तमान अवस्थामा विकासको गति लिन नसकेको भन्दै असन्तुष्टि पोख्नु भयो । बर्सेनि सामरी खोलाले मानिसको ज्यान लिइरहेकोमा खोलामा दर्जनौं पुल बनेकाले खोला तर्दा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । स्वास्थ्यमा पहुँच पुर्याउने उदेश्यले अस्पतालको निर्माण , किसानलाई सहजताका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण गरिएको उहाँको भनाई छ ।

निर्वाचनमा जित हार स्वभाविक प्रक्रिया रहेको भन्दै हुमागाईले एमालेले हार्नु भनेको विकासको गति रोकिएको जनताले महशुस गरिरहेको धारणा राख्नुभयो ।

एमाले मकवानपुरगढी गाउँकमिटीका अध्यक्ष रामजी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रिय कमिटी सदस्य तथा मिसन ग्रासरुट मकवानपुर जिल्लाका अभियान्ता बालिका गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बागमती प्रदेश कमिटी सद्स्य तथा एमाले गाउँपालिका मिसन ग्रासरुट अभियानका अभियान्ता भोजराज ढकाल, एमाले जिल्ला सल्लाहकार परिषदका अध्यक्ष बलराम हुमागाई, एमाले मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष जित बहादुर घिमिरे लगायतले मन्तव्य राख्नुभएको थियो ।

सोही कार्यक्रममा मकवानपुरगढी ३ का भिम गोले लगायत केही युवाहरु एमाले प्रवेश गरेका छन् ।

मुख्य समाचार राजनीति