आगामी आवको कार्यक्रमबारे सरोकारवालासँग निर्देशनालयले गर्यो छलफल

२७ बैशाख,हेटौंडा – बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले आगामी आवको कार्यक्रमबारे सरोकारवालासँग अन्तरक्रिया गरेको छ । हेटौंडामा रहेको कृषि विकास निर्देशनालयको सभाहलमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागीहरुले सरकारले कृषि क्षेत्रमा अत्यन्तै न्यून बजेट विनियोजन गर्ने गरेको भन्दै आक्रोश पोखेका छन् । साथै कृषि क्षेत्रको अनुदानका कार्यक्रम पनि झन्झटिलो रहेको र वास्तविक किसानसँग पुग्ने खालको नभएको बताएका छन् ।

सरकारले कार्यक्रम बनाउँदा प्रत्यक्ष सरोकार राख्ने किसानसँग घनिबुत छलफल गरि आएका कार्यक्रमलाई समाबेश गर्नुपर्ने बताएका छन् । कतिपय कार्यक्रम कर्मकाण्डी खालको मात्र रहेको भन्दै नीति तथा कार्यविधिमा आवश्यक परिमार्जन गरि कामकाजी बनाउनुपर्ने उनीहरुको सुझाव छ ।

सहभागीहरुले उत्पादनमा आधारित अनुदानलाई वृद्धि गर्नुपर्ने , घाँसखेती , पशुआहार तथा औसधिमा अनुदानको ब्यवस्था गर्नुपर्ने , बाच्छी संरक्षण र प्रवर्द्धन गर्नुपर्ने , नश्ल सुधारका लागि उन्नत साँढे उत्पादन गरि वितरण गरिनुपर्ने , यान्त्रिकरणमा जोड दिनुपर्ने , उत्पादित बस्तुको मूल्य निर्धारण र अनुगमनको ब्यवस्था गरिनुपर्ने , उत्पादित वस्तुको खपत बढाउन प्रवर्द्धनात्मक कार्यक्रम गर्नुपर्ने , उत्पादनमा आधारित पकेट क्षेत्र घोषणा गर्नुपर्ने , वैदेशिक आयातमा कडाई गरिनुपर्ने बताएका छन् ।

क्षतिको जोखिम कम गर्न बिमा कार्यक्रमलाई सशक्त बनाइनुपर्ने , उत्पादन लागत र क्षतिपुर्तिमा प्रोत्साहन अनुदानको ब्यवस्था हुनुपर्ने , औसधि उपचारमा सहजता हुनुपर्ने , अवैध कारोबार नियन्त्रणमा कडाई गर्नुपर्ने , नदिउकास क्षेत्रमा उन्नत घाँस खेतीको अवधारणा ल्याउनुपर्ने , कृषि कर्जा दुरुपयोग गर्नेलाई कार्वाही गर्नुपर्ने उनिहरुको माग रहेको छ ।

कार्यक्रममा दुग्ध क्षेत्रका तर्फबाट चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले , पोल्ट्री ब्यवसायका तर्फबाट डा. रवीन्द्र कुमार भट्टराई , बाख्रापालन तर्फबाट टंक मोक्तान , मत्स्यपालकका तर्फबाट अर्जुन लामिछाने तथा बंगुर पालनका तर्फबाट संघका केन्द्रिय महासचिवले आआफ्नो कार्यपत्र सहित धारणा राख्नुभएको थियो ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा.ब्रज किशोर ठाकुरको सभाध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास निर्देशनालयका कार्यालय प्रमुख तेज प्रसाद दवाडी , मन्त्रालयका अधिकृत डा. सन्तोष अधिकारी , डा. निशान शर्मा लगायतको आतिथ्यता रहेको थियो । (फोटोफिचर)

कृषि समाचार बागमती प्रदेश