सप्ताहब्यापी कार्यक्रम गर्दै हातेमालोको स्थापना दिवस सम्पन्न

१४ जेठ,हेटौंडा – सप्ताहब्यापी कार्यक्रम गर्दै हेटौंडा २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवस आज सम्पन्न भएको छ ।

सप्ताहब्यापी कार्यक्रम अन्तर्गत गत १० गते संस्थाका सदस्यहरूलाई धुप बनाउने तालिम, ११ गते पशुपालन सम्बन्धि तालिम, १२ गते लक्ष्मी आधारभुत विद्यालयका कक्षा १-८ का ५० जना विद्यार्थीलाई झोला वितरण, १३ गते बकैयाको गरगरेमा स्वास्थ्य शिविर संचालन गरि ३०६ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

त्यसैगरी आज बिहान बुद्धचोकमा रक्तदान कार्यक्रम आयोजना गरिएकोमा ३२ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलले बताउनुभयो । साथै आज नै संस्थाको सभाहलमा संचालक समिती तथा उपसमितिहरुको उपस्थितिमा वार्षिक लक्ष्य प्रगति समिक्षा र आगामी वर्षको लागि योजना तर्जुमा गरिएको छ ।

२०८० बैशाख महिनासम्म संस्थाको शेयर पुँजी ६ करोड २७ लाख ७१ हजार पाँच सय रुपैयाँ पुगेको छ भने जगेडा कोष ३ करोड १३ लाख ८८ हजार १६३ रहेको छ । त्यस्तै सोही अवधि सम्म बचत निक्षेप ४२ करोड ९ लाख ४ हजार ७१६ रुपैयाँ रहेकोे छ भने संस्थाको बाह्य ऋण ८ करोड ३ लाख ३९ हजार ४३६ रुपैयाँ छ । सदस्यहरुलाई ५१ करोड ८५ लाख २९ हजार ९७२ ऋण लगानी गरेको छ ।

सोही अबधिसम्म संस्थाको कुल कारोबार भने ६३ करोड ९८ लाख ११ हजार २३५ गरेको छ भने १ करोड २३ हजार ८७० रुपैयाँ नाफा कमाएको संस्थाकी ब्यवस्थापक रमला सापकोटाले जानकारी दिनुभयो ।

हाल संस्थामा ११७८ महिला र १३६३ पुरुष गरि २५४१ जना शेयर सदस्य रहेका ब्यवस्थापक सापकोटाले बताउनुभयो ।

मुख्य समाचार सहकारी