हेटौंडामा प्लास्टिक झोला प्रयोग नगर्न र प्रतिबन्ध लगाउन एकजुट

हेटौंडा । हेटौंडाका सरोकारवालाहरू प्लास्टिक झोला प्रयोग नगर्न र प्रतिबन्ध लगाउन एकजुट भएका छन् ।
विश्व वातावरण दिवसको अवसरमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाले गरेको ४० माईक्रोनभन्दा कमको प्लाटिक प्रतिबन्धसम्बन्धी अन्तरक्रियामा उनीहरूले यसमा समर्थन गरेका हुन् ।
सहभागीहरूले हेटौंडालाई सुन्दर, सफा र नमुना लायक शहर बनाउन प्लास्टिकको झोला तत्काल प्रतिबन्ध लगाउनु पर्ने र यसमा सबै क्षेत्रको साथ, सहयोग र सहभागिता रहने प्रतिबद्धता व्यक्त गरेका थिए । सहभागीहरूले तत्काल हेटौंडामा प्लास्टिकको झोला प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिएका थिए ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वातावरण विज्ञ राममाया श्रेष्ठले प्लास्टिक र यसले मानव स्वास्थ्यमा पार्ने असरको बारेमा प्रस्तुति गरेकी थिइन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिका सदस्य एवं समितिका सल्लाहकार ज्ञान बहादुर थापा, वातावरण समितिका सदस्य रंजिता सिलवाल, सल्लाहकार श्याम प्रसाद श्रेष्ठ, मकवानपुर चेम्बर अफ कमर्सका अध्यक्ष माधव न्यौपाने, गैर सरकारी संस्था महासंघका सहसचिव गोकर्ण तिवारी, प्लास्टिक व्यवसायमा संलग्न व्यवसायी लगायतको सहभागिता रहेको थियो ।-prastakhabar

समाज