चार वटा गाडीबाट बिल नभएको सामान बरामद

हेटौंडा । मकवानपुर प्रहरीले बिल नभएको सामानसहित चारवटा गाडीलाई नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेबाट चारवटा गाडीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ना १ ज.७०५२ नम्बरको सुमोबाट बिल नभएको एकसय ग्रामको काजु १२३ प्याकेट र २०० ग्रामको ६० प्याकेट तथा चुपाचाप चकलेट १० प्याकेट बरामद गरेको छ ।
यस्तै कलैयाबाट काठमाण्डौतर्फ जाँदै गरेको ना १ ज. ५६५७ नम्बरको सुमोबाट ओरियो बिस्कुट ४४ प्याकेट र राजनिवास सेट १९ प्याकेट बरामद गरेको छ । हेटौंडातर्फ आउँदै गरेको ना १ ज ५४१८ नम्बरको सुमोबाट रेडबुल २ काटुन तथा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १०२७ नम्बरको बसबाट ५ कार्टुन अण्डा बरामद गरेको छ ।
चारवटै गाडीमा ल्याइएको सामानको बिल नभएकोले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि राजश्व कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । बरामद गरिएको सामानको बजार मूल्य करिब ५३ हजार रुपैयाँ रहेको उनले बताए ।-prastakhabar

समाचार