भानुभक्त नेपाली राष्ट्रिय एकताको प्रतीक पनि हुन्ः पौडेल

 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको सम्वर्धनमा भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको बताएका छन् । २१० औं भानु जयन्तीको अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको सम्वर्द्धनका निम्ति भानुभक्तको योगलान अतुलनीय भएको बताएका हुन् ।
भानुभक्तले नेपाली भाषालाई काव्यभाषाका रुपमा समन्नुत तुल्याएका बताउँदै राष्ट्रपति पौडेलले उनका कविताको प्रसारसँगै नेपालको बहुभाषिक र बहुसाँस्कृतिक समाजमा राष्ट्रिय एकताको भावना सुदृढ हुँदै गएको उल्लेख गरेका छन् ।
भानुभक्तीय रामायण नेपालीलाई एकताको सूत्रमा बाँध्ने एउटा महत्वपूर्ण रचना भएको उल्लेख गर्दै पौडेलले रचनाको माध्यमले देशलाई पृथ्वीनारायण शाहले प्रशासनिक रुपले गराएको एकतालाई भावनात्मक एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेलेको बताए । त्यसकारण भानुभक्त नेपाली राष्ट्रिय एकताको प्रतीक पनि भएको बताए ।
राष्ट्रपति पौडेलले भानुको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गर्न सकेमा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

राजनीति