सबैसँग समन्वय गर्दै डेंगु नियन्त्रणको काम गरिन्छ: जोशी

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सबैसँग समन्वय गर्दै डेंगु नियन्त्रणका लागि काम गरिने बताएका छन् । 
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले गरेको ‘बागमती प्रदेशमा डेंगु रोगको विद्यमान अवस्था, रोकथाम, नियन्त्रण तथा पूर्वतयारी सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले मन्त्रालयका मातहतका निकाय, सहकारी संस्था, टोल विकास संस्था, आमा समूह, सुरक्षा निकाय, र स्थानीय तहसम्म परिचालन गरेर डेंगु नियन्त्रणको काम गरिने बताए । उनले प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थाहरूलाई डेंगुका विरामीहरूका लागि सेवा प्रवाहमा गम्भीर भएर लाग्न निर्देशन दिए । डेंगु नियन्त्रण एवं उपचारमा कुनै कमी नहुने गरि तयारी गर्न निर्देशन दिंदै उनले नीजि अस्पतालहरूलाई पनि यसमा समन्वय गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक महेश्वर श्रेष्ठले बागमती प्रदेशमा डेंगुको संक्रमण नियन्त्रणका लागि अभियान संचालन गर्न गरिरहेको बताए । उनले स्वास्थ्यकर्मीहरूलाई टोल तहसम्म परिचालन गर्न समन्वय गर्ने बताए । स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख वसन्त अधिकारीले प्रभावित जिल्लामा डेंगु परीक्षण कीट पठाइएको बताए । प्रदेश सरकारमार्फत कीट र सिटामोल लगायतका सामग्री खरिदको प्रक्रिया अघि बढाउने बताए ।
हेटौंडा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटा अस्पतालले २५०० कीट खरिद गरेको र दैनिक २० देखि २५ वटा खपत भइरहेको बताए ।
स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख लक्ष्मण घिमिरेले मकवानपुरमा डेंगुका विरामी फेला पर्न शुरू भएको बताउँदै टेष्ट कीट, सिटामोल केही मौज्दात रहेको बताए । उनले सचेतना अभिवृद्धि र रिपोर्टिङको लागि काम भइरहेको बताउँदै गत आवमा मकवानपुरमा हेटौंडा र मनहरीमा बढि डेंगुका विरामी फेला परेको बताए ।
त्यस्तै, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले सचेतना अभिवृद्धिको काम गरिरहेको बताउँदै ३ जना निरीक्षकको व्यवस्था गरी डेंगु फैलाउने लामखुट्टेको बासस्थानको अनुगमन गर्ने बताए ।
निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले बागमती प्रदेशमा डेंगुको अवस्था र नियन्त्रणका लागि भइरहेका प्रयासबारे अवगत गराएका थिए । मन्त्रालय निमित्त सचिव दिपक तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका जनस्वास्थ्य प्रशासक दुर्गादत्त चापागाईं, मन्त्रालयका विभिन्न शाखाका प्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।-prastakhabar

समाचार