पशुको निशुल्क बिमा र दूधमा प्रतिलिटर २ रुपैयाँ अनुदान दिदै वडा कार्यालय

२५ साउन,हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ का किसानले पशुको निशुल्क बिमा र दूधमा प्रतिलिटर २ रुपैयाँ अनुदान पाउने भएका छन् ।

वडा कार्यालयले चालु आर्थिक वर्षदेखि वडाका किसानहरुलाई कृषि कार्यक्रम अन्तर्गत यो अनुदान दिन लागेको हो। वडा अध्यक्ष सुनिल मुक्तानले आफ्ना वडाका किसानलाई लक्षित गरेर यो काम गर्न लागेको बताउनु भयो।

उपमहानगरपालिकाले वडाका लागि छुट्याएको बजेटबाट किसानको मागलाई मध्येनजर गर्दै दूग्ध उत्पादन गर्ने किसानलाई दुधमा २ रुपैयाँ र पशु खरिदमा वडाबाट पशु बीमा कार्यक्रमको लागि बजेट व्यवस्थापन गरिएको वडाध्यक्ष सुनिल मुक्तानले जानकारी दिनुभयो ।

वडा अध्यक्ष मुक्तानका अनुसार अब गाईँ भैँसीमा गरिँदै आएको १ प्रतिशत पशु बीमा बापतको रकम र दुध उत्पादन गर्ने किसानलाई प्रतिलिटर दुई रुपैयाँका दरले अनुदानको व्यवस्था गरिएको छ । उहाँका अनुसार गोरस महिला दूग्ध उत्पादक सहकारी संस्थामार्फत् वडाका किसानलाई अनुदान बापतको रकम वितरण गरिने छ ।

‘गाउँघरमा सिंहदरबार छ भन्ने तर किसानको समस्या कसैले नबुझेको भन्दै समुदायबाट गुनासो आएपछि हामीले किसानको मागको आधारमा थोरै भएपनि किसानमुखी बजेटको व्यवस्था गरेका हौँ ।’ मुक्तानले भन्नुभयो ।

विदेशिएका युवाहरुलाई पनि स्वदेशमा व्यवसाय संचालन गर्न प्रेरित गर्ने उद्देश्यले थोरै भएपनि कृषिका लागि अनुदान कार्यक्रम सुरु गरिएको उहाँको भनाई रहेको छ । उहाँले यो कार्यक्रमलाई निरन्तरता दिइने पनि बताउनुभयो ।

गोरस महिला दुग्ध सहकारीमा अहिले दैनिक ४ सय लिटर दुध संकलन भइरहेको संस्थाका ब्यवस्थापक रामशरण दाहालले बताउनुभयो ।

अर्थ कृषि समाचार मुख्य समाचार