पाँच दिनका लागि बेनी–जोमसोम–कोरला सडक खण्ड पूर्णरुपमा बन्द गरिने

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी करिडाेरको बेनी–जोमसोम–कोरला सडक खण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ ।

रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको ठाउँमा माथिबाट पहिरो जाने क्रम शुरु भएकाले सडक बन्द गर्न लागिएको हो । भोलि आइतवारदेखि साउन ३२ गते बिहीवारसम्म पाँच दिनका लागि सडक खण्ड पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले म्याग्दीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले कालीगण्डकी करिडोरको चमेरे–बेगखोला सडक खण्डमा चल्ने साना गाडीलाई याे समयमा चमेरे–राखु/पिप्लेबेगखोला सडक खण्डको वैकल्पिक कच्ची मार्ग प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

बैसरी खण्डको विकल्पमा जीप, मोटरसाइकल र ट्र्याक्टरलाई घुमाउनेताल–पिप्ले–रानीपौवा–रिसिनचौतारी–माझखर्क–बेगखोला जोड्ने वैकल्पिक सडक एकतर्फीरुपमा प्रयोग गर्ने व्यवस्था मिलाइएको प्रशासनले जारी गरेकाे सूचनामा उल्लेख छ ।

यसैबीच, सडक विभागका अनुसार देशका एक सय ७८ सडकमध्ये भीमदत्त, बेनी–जोमसोम–कोरला र तमोर करिडोर बन्द छन् । अरु ३५ वटा सडक एकतर्फी सञ्चालनमा छन् । काठमाण्डौलाई जोड्ने मुख्य सडक नारायणगढ–मुग्लिन खण्डमा अहिले सहज रुपमा गाडी चलिरहेका छन् । तर यो खण्डमा पानी पर्नासाथ पहिरो जाने गरेको छ । यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

दैनिक १० हजारभन्दा धेरै मालवाहक र यात्रुवाहक गाडी गुड्ने नारायणगढ–मुग्लिन सडक पाँच वर्षअघि स्तरोन्नति गरिएको थियो । तर, हरेक वर्ष पहिरोको जोखिम उस्तै छ।

समाचार