धान तथा रैथाने बाली उत्पादन गर्ने किसानलाई प्रति किलो ६ रुपैयाँ अनुदान

२३ असोज,मक्रान्चुली- बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडाबाट नजिकै रहेको मकवानपुरगढी गाउँपालिकाले रैथाने बाली उत्पादन गरे बापत किसानलाई अनुदान दिने भएको छ ।

पालिकाको चालु आ.व. २०८०/०८१ को स्विकृत वार्षिक कार्यक्रम अनुसार कृषि विकास कार्यक्रम तर्फ उत्पादनमा आधारित प्रोत्साहन अनुदान अन्तरगत किसानलाई अनुदान दिन लागिएको पालिकाले जनाएको छ ।

धान तथा रैथानी बाली (कोदो, फापर, धानकोदो, जुनेलो) उत्पादन गरि बिक्रि गर्ने किसानलाई प्रति किलो ६ रुपैयाँका दरले अनुदान दिइने मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चाैधरीले जानकारी दिनुभयो । । यस्तै खरिदकर्ता सहकारीलाई प्रति केजी ४ रुपैयाँका दरले अनुदान दिइने उहाँले बताउनुभयो ।

यसका लागि आउँदो कार्तिक २२ गतेसम्म (सुचना प्रकाशित भएको मितिले ३० दिन भित्र) अनुदान कार्यक्रममा सहभागी हुन सकिने पालिकाले प्रकाशन गरेको सुचना जनाइएको छ ।

रैथाने बालीको उत्पादन तथा प्रबर्द्धनका लागि पालिकाले विभिन्न कार्यहरू गर्दै आइरहेको छ । स्थानीय विद्यालयहरुमा समेत दिवा खाजाका रुपमा रैथाने बालीको प्रयोग गर्ने गरिएको पालिकाले जनाएको छ । मकवानपुरगढीको कालिखोला क्षेत्रमा उत्पादित कोदोलाई पिठो बनाई ब्राण्ड कै रुपमा बजारमा बिक्री गरिंदै आएको छ ।

कृषि समाचार मुख्य समाचार समाचार स्थानीय