मकवानपुरको मनहरीका बासिन्दालाई हात्ति, बाघ र गैडाको आतंकले घर, बालीसँगै ज्यान जोगाउन मुस्किल

हेटौंडा । पस्चिम मकवानपुरको मनहरीका बासिन्दालाई सधैजसो हात्ति, बाघ र गैडाको आतंकले घर, बालीसँगै ज्यान जोगाउन मुस्किल पर्न थालेको छ । पछील्लो समयमा जंगली जनावरले बालीसंगै घर भत्काउने, मानिसलाई आक्रमण गर्ने त्रास बढेको स्थानीय वासिन्दाहरु बताउँछन् । जंगली हात्तिले मनहरी गाउँपालिका वडा नम्बर–७ को रमौली, प्रतापपुर र बिजौना लगायतका क्षेत्रमा निकै आतंकनै सृजना गरेको छ ।

आज बिहान मनहरी गाउँपालिका वडा नम्बर–७ पेन्चेमा जङ्गली हात्ति आइ घर भत्काई क्षति गरेको छ । जंगली हात्तिले पेन्चे बस्ने भरतराज पाठकको पक्कि, एकतले माथि जस्ताले छाएको घरमा राखेको किराना पसलको उत्तर साइडको सटर भत्काई पसलमा रहेको विभिन्न सामानहरु क्षति पुर्याएको छ ।

त्यसैगरी स्थानीय जुना रुम्वाको एक कोठे जस्ताले छाएको कच्चि घरको ढोकाको माथि क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । मकवानपुरको प्रहरी टोली र पर्शा राष्ट्रिय निकुन्जबाट नेपाली सेनाको टोलि खटि गई स्थानियको सहयोगमा उक्त हात्तिलाई जङगल तर्फ लखेटेको छ ।

मनहरी–७ रमौलीमा पुस १७ गते बिहान जंगली हात्तीले ४ वटा घरमा क्षति पु¥यायो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीका अनुसार हात्तीको आक्रमणबाट स्थानीय खड्गबहादुर थिङको काठ र टिनले बनेको भान्साकोठा, भगवती सुवेदीको घर अगाडिको काठको पाली, अर्जुन दाहालको घर अगाडिको पाली भत्काई १ बोरा धानमा क्षती पु¥याएको र चित्रबहादुर घलानको घरको जस्ता भत्काएको थियो ।

यसअघि जंगली हात्तीले मनहरी–७ शान्तिटोलमा तीनवटा घरमा क्षति पु¥याएको थियो । यसैगरी हात्तीकै आक्रमणबाट पुष ७ गते शनिबार मनहरी–७ बिजौना बस्ने ५१ वर्षीया कान्छिमाया तामाङलाई आक्रमण गरी घाइते बनाएको थियो ।

पुस १ गते राती हात्तीले मनहरी–८ सिम्पानीस्थित टल्के चेपाङको ढुंगा र जस्ताले बनेको १ तले घरमा पूर्ण क्षति पु¥याएको थियो । यसैगरी हात्तीले स्थानीय रामबहादुर तामाङको गोठमा क्षति पु¥याएको थियो । यसरी हालसम्म मनहरीका एक दर्जनभन्दी घरमा हात्तिले क्षति गरिसकेको छ । यो वर्ष मात्र होइन मनहरी गाउँपालिकाका जंगल क्षेत्रमा हरेक वर्ष बाघ, हात्ति, गैडाको त्रासबाट बस्नुपर्ने बाध्यता भएको स्थानीय वासिन्दाहरु बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने मनहरीका बासिन्दा वन्यजन्तुका कारण चिन्तित बनेका छन् । गैँडा, मृग, बँदेललगायतका जनावर वस्तीमा प्रवेश गर्न थालेसँगै क्षतिसमेत बढ्दो छ । वन्यजन्तुले लगाएको बाली नोक्सान पार्ने, घरपालुवा चौपाया नोक्सान पुर्याउनुका साथै मानवीय क्षतिसमेत पुर्याउन थालेसँगै समस्या जटिल बनेको हो ।

दैनिकजसो खेतमा गैँडा आउने गरेको छ, लगाएको गहुँ भित्र्याउने बेलासम्म सकिन्छ कि भन्ने चिन्ता छ, त्यतिमात्रै होइन साँझ–बिहान घरबाहिर हिँडडुल गर्न पनि डरलाग्दो भएको स्थानीय वासिन्दाहरु बताउँछन् । दिनहुँजसो हात्ति बस्तीमा आएर दुःख दिन थालेको जनाउँदै नियन्त्रणका लागि निकुञ्ज प्रशासनसहित सरोकारवालाले ध्यान नदिदा थप समस्या भएको छ । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि निकुञ्जभित्र पर्याप्त घाँसेमैदान निर्माण गर्ने र वन्यजन्तुलाई मानव बस्तीमा आउन नदिन पर्खालसहितको मेसजाली लगाउनुपर्ने स्थानीयको माग छ ।-janapatra

समाचार