हेटौंडा ११ मा रहेको क्षीरसागर दुग्ध सहकारीको अध्यक्षमा पुनः पुडासैनी

हेटौंडा- हेटौंडा ११ मा रहेको क्षीरसागर दुग्ध उत्पादक सहकारी संस्थामा पुनः शालिकराम पुडासैनीको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको छ । शुक्रबार (आज) भएको सहकारीको छैठौँ साधारणसभाबाट पुडासैनीको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरिएको हो ।

त्यस्तै समितिको उपाध्यक्षमा बासुदेव पौडेल, सचिवमा तारादेवी कप्रौला, सहसचिवमा गीता राना र कोषाध्यक्षमा जम्बरबहादुर बानियाँ चयन भएका छन् ।

यसैगरी समितिको सदस्यहरुमा पुर्णकुमारी बस्नेत, मन्जु बिडारी, भिमसेन हुमागाई, तेसराज रिमाल, लिलानाथ अगस्ती चयन भएको सहकारीका व्यवस्थापक देवकुमार श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार सहकारीको लेखा सुपरिवेक्षण समिति पनि सर्वसम्मत भएको छ । जसको संयोजकमा कृष्णप्रसाद खनाल चयन भएका छन् भने सदस्यमा धर्मेन्द्र भट्ट र सावित्री गजुरेल रहेका छन् ।

भेलाकै अवसर पारी सहकारीमा धेरै दूध विक्री गर्ने कृषकहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । पुरस्कृत हुनेहरुमा पुण्यकुमारी बस्नेत प्रथम, श्रीराम भक्त गिरी द्वितीय, उद्धवप्रसाद गजुरेल तृतीय, हरीमाया पण्डीत र सावित्री हुमागाई सान्त्वना भएका थिए ।

१ सय २७ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी ५ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको छ । सहकारीको कारोबार २ करोड २४ लाख ९४ हजार रुपैयाँ रहेको छ।
सहकारीका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा भएको भेलामा हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्वर वडा अध्यक्ष जुना दाहाल, सदस्य गीता सुनार, हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेललगायतको आतिथ्यता रहेको थियो ।

समाचार सहकारी