बैंकसम्म आउन जान समस्या भएपछि वडाबाट नै भत्ता वितरण गर्दै मकवानपुरगढी गाउँपालिका

मक्रान्चुली- गाउँपालिकाको केन्द्र मक्रान्चुलीमा रहेको नबिल बैंकसम्म आउन जान वृद्ध-वृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि मकवापुरगढी गाउँपालिकाले वडा स्तरबाट नै सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण कार्य सुरु गरको छ ।

मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर-८ बाट बिहिवार (आज) पहिलो चरणको वडा स्तरबाट भत्ता वितरणको काम सुरु गरिएको गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताउनु भयो । गाउँपालिकाको केन्द्रमा रहेको बैंक बाट मात्र भत्ता वितरण गर्दा टाढाका वडाहरुबाट आउने वृद्ध-वृद्धा तथा अशक्त नागरिकहरुलाई असहज भएको महसुस गरि वडा स्तर बाटै भत्ता वितरणको शुरूवात गरिएको उहाँको भनाई रहेको छ ।

आज पहिलो दिन वडा नम्बर – ८ बुढिचौरमा वडा स्तरीय सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम मार्फत जम्मा ६७ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता रकम बुझेको पञ्जिकरण शाखा प्रमुख रघुनाथ हुमागाईले बताउनुभयो ।

जिल्ला तथा प्रदेशको मुकाम हेटौंडासंग जोडिएको नजिकको पालिका भएता पनि यस गाउँपालिकाका केही वडाहरु विकट र दुर्गममा रहेकाले बिषेश गरी अहिले दोस्रो किस्ता अन्तर्गत वडा नम्बर- ८ र वडा नम्बर – १ लाई विशेष प्राथिमकतामा राखेर बैंक मार्फत नै वडामै पुगी त्यहीँबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको र बाँकि रहेको वडाका लाभ ग्राहीहरुलाई नबिल बैंक मक्रान्चुली शाखा बाट वितरण गर्ने र बिस्तारै यो बर्ष भित्र सबै वडाका लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता वडा स्तरबाट वितरण गरिने शाखा प्रमुख हुमागाँईले बताउनुभयो ।

केहि प्राविधिक समस्याले गर्दा आज वितरण गर्न नपाएकाहरुलाई नबिल बैंक मक्रान्चुली शाखा बाट रकम निकाल्न सकिने पनि उहाँले बताउनुभयो । १६९ जना लाभग्राही रहेका यस वडामा बाँकि रहेका लाभग्राहीहरुले बैंक बाट नै भत्ता लिन सक्नेछन् । आज भएको भत्ता वितरण कार्यक्रममा बैंकका कर्मचारी तथा पालिकाका कर्मचारी, इलाका प्रहरी कार्यालय मकवानपुरगढीका सुरक्षाकर्मीहरु, वडा सदस्य गोकुल देबकोटा लगायतकाको उपस्थिती रहेको थियो ।

अर्थ मुख्य समाचार समाज