तरूण दलद्वारा हेटौंडा-६ मा ट्राफिक सचेतना कार्यक्रम

हेटौंडा । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत हेटौंडा-६ चौघडामा शनिबार ट्राफिक सचेतना कार्यक्रम भएको छ । तरूण दल हेटौंडा-६ नम्बर वडा इकाईको आयोजनामा ‘सवारी दुर्घटना न्यूनीकरणका निम्ति सचेतना कार्यक्रम’ भएको हो ।
प्रहरी चौकी चौघडासंगको सहकार्यमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस र तरूण दल सम्बद्ध नेता कार्यकर्ताहरू र चौघडा चौकीका सुरक्षाकर्मीले कान्तिलोकपथमा संचालन हुने सवारीका चालक र प‌ैदल यात्रीलाई सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न, मादक पदार्थ र लागु औषध सेवन गरि सवारी नचलाउन, बजार क्षेत्रमा तिब्र गतिमा सवारी नचलाउन, मोटरसाइकल चलाउँदा हेल्मेट लगाउन सुझाव दिएका थिए ।
उनीहरूले जथाभावी पार्किङ नगर्न, सडक पार गर्न जेब्रा क्रसको प्रयोग गर्न, पैदल यात्रीहरूलाई सडक पेटीबाट मात्रै हिड्न, सधैं ट्राफिक नियमको पालना गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, नेपाली कांग्रेस जिल्ला सदस्य एवं पूर्व वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईं, पार्टी वडा सभापति रामहरी तिमल्सिना, उपसभापति केशव धिताल, सचिव राजकुमार फुँयाल र कृष्णप्रसाद दुलाल, हेटौंडा-६ का वडा सदस्य विजय पौडेल, पूर्व वडा सदस्य एवं तरूण दल जिल्ला सदस्य राजकुमार बास्तोला, तरूण दल ६ नम्बर वडा अध्यक्ष कमल कोइराला, उपाध्यक्ष ईश्वर राना लगायत पार्टी र तरूण दलका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
पछिल्लो समय सवारी चाप बढेसंगै हेटौंडा-काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ र हेटौंडा- धरानचतरा सडकमा दुर्घटना हुने क्रम बढेको छ ।

राजनीति समाचार