मकवानपुरगढीका ५५ घरमा अझै खरको छाना,वडा नम्बर ३ र ६ खरको छाना मुक्त वडा

मक्रान्चुली- बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडासँग सिमाना जोडिएको मकवानपुरगढी गाउँपालिकामा अझै ५५ घर खरको छाना मुक्त हुन बाँकी रहेको पाइएको छ ।

स्वयं मकवानपुरगढी गाउँपालिकाले राखेको तथ्यांक अनुसार वडा नम्बर ३ र वडा नम्बर ६ खरको छाना मुक्त वडा रहेका छन् । पालिकाको बाँकी ६ वटा वडाका ५५ घरमा अझै खरको छाना भएको तथ्यांकले देखाएको छ । जस अनुसार ५५ घर मध्ये वडा नम्बर १ मा मात्रै झन्डै आधा घर अर्थात् २५ घरमा खरको छाना रहेको पाइएको छ । त्यस्तै वडा नम्बर २ मा ५ घर, वडा नम्बर ४ मा ५ घर , वडा नम्बर ५ मा ३ घर , वडा नम्बर ७ मा १४ घर र वडा नम्बर ८ मा ३ घरमा खरको छाना रहेको गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख सुर्य गुरुङले बताउनुभयो ।

सोहि विषयमा वडा नम्बर १ का वडाध्यक्ष आइतसिं लो सँग कुरा गर्दा त्यो तथ्यांक २ वर्ष अघिको रहेको र हाल त्यो संख्यामा सुधार आएको बताउनुभयो । उहाँकै भनाई अनुसार अझै लगभग १५ घर जतिमा भने खरको छाना मुक्त हुन बाँकी रहेको छ । आफुहरुले २ वर्ष अघि नै घरको छाना मुक्तको लागि सिफारिस गरेर पठाए पनि हालसम्म कुनै सुनुवाइ नभएको उहाँले बताउनुभयो ।

सुरक्षित नागरिक आवास कार्यक्रम लागु भएको यस गाउँपालिकामा सरकारले खरको छाना मुक्त गर्न प्रती घरलाई बढिमा ७५ हजार रुपैया सम्म दिने कार्यबिधी रहेको छ । सो कार्यक्रम अन्तरगत घर बनाउँदा काम सम्पन्न भएपछि बिल भर्पाइको आधारमा मात्र भुक्तानी हुने हुँदा गरीबीमा रहेका लाभग्राहीहरुलाई जनप्रतिनिधिले सहयोग गरिदिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
(पत्रकार एमपी शर्मा पौडेलको सहयोगमा)

मुख्य समाचार समाचार समाज स्थानीय