विभिन्न माग सहित आन्दोलनको तयारीमा केन्द्रिय दुग्ध सहकारी संघ

काठमाडौं- विभिन्न माग राख्दै केन्द्रिय दुग्ध सहकारी संघले आन्दोलनको तयारी गरेको छ । दुग्ध किसानहरुले पाउने ६ अर्ब रुपैंयाँ भन्दा बढीको रकम यथासिघ्र भुक्तानी गर्न संघले माग गरेको छ । संघले विज्ञप्ती जारी गरी किसानको बाँकी रकम भुक्तानी नगरे फागुन १४ गते देखि देश व्यापी आन्दोलनका कार्यक्रम गर्ने जनाएको छ।

दुग्ध किसानहरुको डिडिसीलगायतका डेरी उद्योगीहरुले विगत पाँच महिनादेखि दिन बाँकी राखेको ६ अर्ब भन्दा बढीको भुक्तानी बक्यौता यथाशिघ्र भुक्तानी गर्न पनि संघले माग गरेको हो ।

त्यसैगरी मिल्क होलिडे तुरुन्त रोक्न, अनियमित आयातित दुग्धजन्य पदार्थहरुलाई पूृर्ण बन्द गर्न, स्टक रहेका दुग्धजन्य पदार्थ नेपाल सरकारको कुटनितिक पहलद्धारा अन्तराष्ट्रिय बजारमा अविलम्ब बिक्री गर्ने ब्यवस्था गर्न संघको माग छ ।

त्यसैगरी कृषि कर्जामा अनुदान कार्यक्रम विगतका बर्षहरुमा झै यथाशिघ्र उपलब्ध गराउन, लागत मूल्य घटाउने कार्यक्रमहरु, पशु आहारा, पशु औषधि लगायत पशुपालन संग सम्बन्धित वस्तुका मूल्य राज्यले अविलम्ब नियन्त्रण गर्न पनि संघको माग रहेकोे छ। त्यस्तै विमाको रकम उपलब्ध गराउन, निर्यातित दुग्धजन्य पदार्थहरुमा अनुदानको ब्यवस्था अविलम्ब गर्न र दूध तथा दुग्धपदार्थ निर्यातको लागि खोरेत लगायत रोग मुक्त घोषण गर्न संघले माग गरेकोछ ।

संघले विगतमा विभिन्न सरकारी निकाय तथा उच्च पदस्थ संग गरेको सम्झौता पनि कार्यान्वयन नगरेको बताएको छ ।
दुग्ध उत्पादक कृषकहरुले दूध बिक्री वापत पाउनुपर्ने रकम भुक्तानी लगायत ११ बुँदे माग सहित मंसिर २८ गते देखि नै कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएसन लगायतका सरोकारवाला निकायबीच पटक पटक भएको सम्झौतामा वेवास्ता गरेको संघको विज्ञप्तीमा भनिएको छ ।

छलफलमा दुग्ध उत्पादक कृषकहरुलाई भुक्तानी गर्नु पर्ने बाँकी बक्यौता रकम पौष मसान्तभित्र अधिकतम भुक्तानी गरीसक्ने र बाँकी रकम माघ मसान्तसम्म भुक्तानी गरि नियमित गर्ने सम्झौता पनि कार्यान्वयन नभएको संघले बताएको छ ।

गत मंसिर २६ गते सहमति भएको सम्झौता अनुरुप कार्यान्वयन नभएको हुँदा यसको गम्भिर ध्यानाकर्षण भएको पनि संघले बताएको छ । विगतका सम्झौता कार्यान्वन गरी किसानको भुक्तानी तत्काल नगरे फागुन १४ गते देखि देशव्यापी रुपमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघले विज्ञप्ती मार्फत जनाएको छ ।

संघले फागुन ८, ९, १० र ११ गते जिल्ला दुग्ध सहकारी संघ संस्थाहरुको बैठक बस्ने, ब्यापक भेला गर्ने, प्रचार प्रसार गर्ने गराउने, राजनीतिक पार्टी विभिन्न किसान संघ संगठनहरुलाई जानकारी तथा सहयोगको लागि आब्हान गर्ने, त्यसैगरी फागुन १४ र १५ गते जिल्ला प्रशासन कार्यालयमा जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा विहान १० देखि १२ बजेसम्म २ घण्टा धर्ना, विरोध तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको संघले जनाएको छ ।

त्यस्तै फागुन १७ गते जिल्ला दुग्ध उत्पादक सहकारी संघहरुको नेतृत्वमा विहान १० देखि १२ बजेसम्म २ घण्टा राजमार्ग तथा सम्भावित सडक मार्गहरुमा शान्तिपूर्ण चक्काजाम गर्ने, फागुन २१ गते देखि माइतीघर मण्डलामा धर्ना तथा माग पूरा नभएसम्म निरन्तर विरोध प्रदर्शन गर्ने संघको निणर्य भएको संघका बरिस्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले बताउनुभयो ।

अर्थ मुख्य समाचार