मनहरीमा विरोधसभाः २४ घण्टाभित्र माफी माग्न तरुण दलको चेतावनी

 नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको चरित्र हत्या गर्न खोजेको भन्दै नेपाल तरुण दल मनहरी गाउँपालिकाले विरोध सभा गरेको छ ।  तरुण दल मनहरी गाउँपालिकाले आइतबार गाउँपालिका अगाडि विरोध सभा गरेको हो ।
विरोधसभामा कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौलाले समृद्ध मनहरी निर्माणको लागि कांग्रेसले गरिरहेको विकासको कामबाट आत्तिएर पाँच राजनैतिक दलले कांग्रेस सभापति बानियाँको चरित्र हत्या गर्न खोजेको र खबरदारीको नाममा जनप्रतिनिधिको तस्विर अंकित व्यानर सार्वजनिक स्थानमा प्रर्दशन गर्ने अधिकार नरहेको बताए । उनले विगतमा एमालेले मनहरी गाउँपालिका संचालन गर्दा देशकै कमजोर पालिकाको रुपमा रहेको र अध्यक्ष र उपाध्यक्षको विवादले विकासबाट गाउँपालिकाबासी बन्चित भएको स्मरण गराए । पुलको ९० प्रतिशत भन्दा बढि काम सम्पन्न भईसकेको अवस्थामा निर्माण व्यवसायीको मनोबल गिराउने काम गर्नु पूर्वाग्रह मात्रै भएको उनको भनाई छ ।
कार्यक्रममा कांग्रेस महासमिति सदस्य एवं तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले २०७२ सालको भुकम्प, नाकाबन्दी, कोभिड महामारी र अहिलेको आर्थिक मन्दीका कारण निर्माण व्यवसायी थला परेको र राज्यले भुक्तानी एवं सुरक्षा दिन नसक्दा अवस्था दयनीय रहेको बताए । उनले विरोध प्रर्दशनमा सामाजिक संस्कार र चरित्र समेत गुमाउँदै निर्माण व्यवसायीलाई मान हानी गर्नेलाई कारवाहीको माग गरे । विरोधमा उत्रिएको एमालेबाट निर्वाचित तत्कालिन उपाध्यक्षको नाममा ९ लाख रुपैंया बक्यौता रहेको दावी गर्दै उनले बक्यौता २४ घण्टाभित्र भुक्तानी गर्न चेतावनी दिए । उनले बानियाँको चरित्र हत्या गर्ने पक्षलाई २४ घण्टाभित्र माफी माग्न समेत चेतावनी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य जानकी लामा, नेता नुरोज पौडेल, तरुण दल मनहरी गाउँपालिका अध्यक्ष स्वतन्त्र उप्रेति लगायत नेपाली कांग्रेस र तरुण दलका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।-prastakhabar

राजनीति समाचार