गढिगाउँपालिका प्रमुखद्वारा दादुरा-रुबेला खोप अभियानको शुभारम्भ,१८ गतेसम्म खोप लगाइने

मुलुकभरका बालबालिकालाई दादुरा, रुबेलाविरुद्ध खोप लगाउने अभियान अन्तर्गत मकवानपुर जिल्लामा आजदेखि खोप लगाइएको छ । यस्तै, मकवानपुर गढि गाउपालिकामा पनि आज दादुरा रुबेला विरुदको खोप अभियान सञ्चालन गरिएको छ ।

यस अभियानअन्तर्गत आजबाट ९ महिनादेखि ५ वर्षसम्मका १९०४ जना लक्षित बालबालिकालाई फागुन १८ गतेसम्म खोप लगाइनेछ।

खोप अभियानको प्रथम दिन आज गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की,४ नम्बर वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना,सहिद रुद्र स्मृति सामुदायिक स्वास्थ्य इकाई प्रमुख लक्ष्मण दहाल सहितको उपस्थितिमा वडा नं ४ को मनकामना मन्दिर खोप केन्द्रमा २९ महिनाको तिलिजा गोलेको खोप कार्ड निजको आमालाई र भ्याक्सिन क्यारिएर खोप कार्यकर्ता इन्दिरा मैनालीलाई हस्तान्तरण गरि कार्यक्रमको औपचारिक सुरुवात गरिएको छ ।

लक्षित उमेरका बालबालिकालाई खोप लगाएर दादुरा तथा रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगबाट सङ्क्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने, दादुरा-रुबेला खोप नलगाएमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्यूमिनिया हुने इन्सेफलाइटिक्स हुने, कम्पन्न हुने तथा बालबालिकाको मृत्यु हुनसक्ने भएकाले यो खोप अभियान सञ्चालन गरिएको हो ।

यस्तै, गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीन नेपालीले स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछाने, सि।अ।न।मि। निरीक्षक गायत्री सापकोटा ,मक्रान्चुली सामुदायिक स्वास्थ्य इकाई प्रमुख नारायण प्रसाद घोरसाईनी लगायतको उपस्थितिमा ३९ महिनाको कृतिष घिमिरेको आमालाई खोप कार्ड र खोप कार्यकर्ता चन्द्रकला पौडेललाई भ्याक्सिन क्यारिएर हस्तान्तरण गरी खोप कार्यक्रमको शुभारम्भ गरिएको छ ।

नियमित रुपमा खोप लगाउनुका साथै छुटेका बालबालिकालाई समेत अनिवार्य खोप लगाउनुपर्ने जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ । जिल्लामा नियमित खोप कार्यान्वयनमा हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिका उत्कृष्ट रहेका जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय