केन्द्रिय दुग्ध सहकारी संघको आन्दोलनमा मकवानपुरको ऐक्यबद्धता, १७ गते २ घण्टा राजमार्ग बन्द गरिने

किसानको माग सम्बोधनमा सरकार जिम्मेवार नभएको भन्दै केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालको राष्ट्रव्यापी दुग्ध किसान आन्दोलनमा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले ऐक्यबद्धता जाहेर गरेको छ।

आइतबार संघको कार्यालय हेटौंडा -१ चौकिटोलमा केन्द्रिय दुग्ध सहकारी संघका संचालक सदस्य विदुर हुमागाईको उपस्थितिमा बसेको जिल्ला दुग्ध सहकारी संघको बैठकले केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालको आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय गरेको संघका अध्यक्ष हरि प्रसाद कडेलले बताउनुभयो ।

कार्यक्रम अनुसार फागुन १४ र १५ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र २ घण्टा धर्ना र विरोध कार्यक्रम गर्ने , फागुन १७ गते जिल्ला दुग्ध सहकारी संघको नेतृत्वमा हेटौंडाका राजमार्ग तथा सम्भावित सडक मार्गहरुमा २ घण्टा शान्तिपूर्ण जक्काजाम गर्ने तथा फागुन २१ गतेदेखि माइतीघर मण्डलामा माग पुरा नभएसम्म धर्ना एवम् विरोध प्रदर्शन गर्ने निर्णय भएको उहाँले बताउनुभयो । 

बैठकमा राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य तथा संघका सल्लाहकार बद्री प्रसाद लम्साल , संघका पुर्व अध्यक्ष तथा सल्लाहकार खिल प्रसाद चौलागाईं , संघका निवर्तमान अध्यक्ष वासुदेव अधिकारीको समेत उपस्थिति रहेको थियो।

दुग्ध सहकारीमार्फत मकवानपुरमा दैनिक ५० हजार लिटर दुध संकलन भइरहेको र दैनिक करिब ३५ लाख रुपैयाँ शहरको पैसा गाउँ भित्र्याउँदै ग्रामीण अर्थतन्त्र मजबुत बनाउन क्रियाशील रहेको संघका ब्यवस्थापक कुमारमणी दाहालले बताउनु भएको छ । तर पछिल्लो समय विभिन्न डेरी उद्योगहरुबाट माघसम्ममा करिब ५१ करोड लिन बाँकी रहेको तथा दुग्ध उत्पादक संस्थाहरुलाई दुधको भुक्तानी गर्न ५० करोड बाँकी रहेकाले किसानहरुलाई समयमै भुक्तानी दिन नसकिएको उहाँले बताउनुभयो ।

डेरी उद्योगहरुसँग लिनुपर्ने बाँकी रहेको रु. ५१ करोडभन्दा बढी रकम अविलम्ब भुक्तानी गराउनुपर्ने, किसानले भोगिरहेको मिल्क होलिडे तुरुन्त बन्द गराउनुपर्ने, अनियमित रूपमा आयातित दुध एवं दुग्धजन्य पदार्थलाई पूर्ण बन्द गराई मौज्दात रहेका दुग्धजन्य पदार्थ नेपाल सरकारको कूटनीतिक पहलद्वारा अन्तर्राष्ट्रिय बजारमा अविलम्ब बिक्री गर्ने व्यवस्था गरिनुपर्ने संघको माग रहेको छ।

यसैगरी, संघले दुग्ध किसानलाई कृषि कर्जामा अनुदान कार्यक्रम यथाशीघ्र उपलब्ध गराउनुपर्ने, उत्पादन लागत घटाउन अभियान सञ्चालन गराउनुपर्ने, पशु आहार र पशु औषधिमा भइरहेको मूल्यवृद्धि नियन्त्रण गरी अनुदानको व्यवस्था गर्नुपर्ने, दुधमा प्रतिलिटर रु. ५ अनुदान सबै प्रदेशका किसानले पाउनुपर्ने, निर्यातित दुग्धजन्य पदार्थमा अनुदानको व्यवस्था गर्नुपर्ने, दुध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि खोरेतलगायतका रोगमुक्त घोषणा गर्ने र बिमा कार्यक्रमलाई प्राथमिकतामा राखी पशु बिमाको रकम तुरुन्तै प्राप्त हुने व्यवस्था गर्नुपर्ने केन्द्रिय दुग्ध सहकारी संघले माग राखेको छ।

अर्थ मुख्य समाचार सहकारी