जिल्ला दुग्ध संघ मकवानपुरले प्रमुख जिल्ला अधिकारी मार्फत बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र


१४ फागुन,हेटौंडा- मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । आईतवार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा केन्द्रिय दुग्ध सहकारी संघका संचालक सदस्य विदुर हुमागाईले मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई समक्ष ज्ञापनपत्र बुझाउनु भएको हो । केन्द्रिय दुग्ध सहकारी संघको घोषित आन्दोलन अन्तरगत ज्ञापनपत्र बुझाइएको हुमागाईले बताउनुभयो ।

मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको दुग्ध उत्पादन ब्यवशाय दिनानुदिन धरासायी हुँदै गईरहेको तथा दुग्ध उत्पादक किसानहरुको आम्दानीको एकमात्र स्रोत पशुपालन ब्यवशाय अन्तरगत उत्पादन हुने दुग्ध बिक्री नहुने र बिक्री भएको दुग्धको रकम समेत समयमा भुक्तानी नहुने कारणले किसानहरु गम्भिर पीडामा रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सरकारी स्वामित्वको दुग्ध बितरण आयोजना र नीजि क्षेत्रबाट सञ्चालित डेरी उद्योगहरुबाट किसानले पाउनुपर्ने भुक्तानी रकम बिगत ६ महिनादेखि नपाएको र किसानहरुले उत्पादन गरेका कुनैपनि कृषिजन्य उत्पादनले बजार नपाएको तथा बजार भारतिय उत्पादनले भरिभराउ रहेका कारण नेपाली किसानहरुले आफ्नो उत्पादन फ्याक्नुपर्ने अवस्था सिर्जना भएको बताइएको छ ।

‘कृषि र पशुपालन ब्यवशायमा यति धेरै समस्या सृजना हुँदापनि सरकार किसानहरुको समस्या प्रति उदासिन देखिनु, अबैधानिक रुपमा आयातित भारतिय दुग्ध र दुग्धजन्य पदार्थ रोक्न आवश्यक कदम नचाल्नु, आफ्नै मातहतमा रहेको दुग्ध विकास संस्थानलाई भुक्तानी दिनको लागि कुनैपनि कदम नचाल्नु जस्ता खेदजनक कदमको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ घोर भत्र्सना गर्दछ’ ज्ञापनपत्रमा भनिएको छ ।
साथै केन्द्रीय दुग्ध सहकारी संघद्वारा घोषणा भएको आन्दोलनका कार्यक्रम प्रति ऐक्यबद्धता जनाउँदै मकवानपुरबाट आन्दोलनको आँधिबेहरी सृजना गर्ने संघले चेतावनी दिएको छ । किसानहरुको समस्या समाधानको लागि आयोजित आन्दोलनमा सबै पक्षबाट साथ र सहयोग रहनेमा संघले अपेक्षा गरेको छ ।

सो ज्ञापनपत्रमा भनिएको छ “प्रशासनिक तवरमा किसानका यी गम्भिर समस्या आफ्नै समस्याका रुपमा लिनुहुनेछ भनी बिश्वास गर्दछौं, उल्लेखित मागहरु पुरा गराउन प्रमुख जिल्ला अधिकारी ज्यू, मार्फत सम्माननीय प्रधानमन्त्री ज्यू मा अनुरोध गर्दछौं ।”

संघले सरकार समक्ष राखेका मागहरु:

१. दुग्ध उत्पादक किसानहरुको सरकारी स्वामित्वमा रहेको दुग्ध बितरण आयोजना र नीजि क्षेत्रबाट सञ्चालित डेरी उद्योगहरुसँग बिगत ६ महिनादेखि रोकिएको सम्पूर्ण रकम यथाशिघ्र भुक्तानीको ब्यवस्था मिलाईयोस् ।
२. किसानहरुले भोगिरहेको मिल्क होलिडे (दुग्ध बिदा) तुरुन्त रोकियोस् ।
३. अनियमित ढँगबाट अन्य मुलुकहरुबाट आयातित दुग्धजन्य पदार्थहरुको आयात पूर्णरुपमा अबिलम्ब बन्द गरियोेस्।
४. दुग्ध उत्पादक किसानहरुलाई कृषि पेशामा टिकाउनको लागि सहुलियत कृषि कर्जा यथाशिघ्र दिने ब्यवस्था मिलाईयोस् ।
५. दुग्ध उत्पादनमा लागत मूल्य घटाउन दिँदै आएको लिटर अनुदान (उत्पादनका आधारमा) कम्तीमा प्रति लिटर रु. ५/– दिने ब्यवस्था गरियोस् ।
६. दुग्ध उत्पादक सहकारी संस्था मार्फत पशु बिमा गर्ने ब्यवस्था मिलाईयोस् ।
७. दुग्ध तथा दुग्ध पदार्थको निर्यातका लागि खोरेत लगायत अन्य रोग मुक्त गर्न आवश्यक सुनिश्चितता गरियोस् ।
८. दुग्ध तथा दुग्ध पदार्थ निर्यातको लागि खोरेत लगायत रोग मुक्त घोषणा गरियोस्।

संघले बुझाएको ज्ञापनपत्र :

ज्ञापनपत्र बुझाउने कार्यक्रममा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कडेल, निवर्तमान अध्यक्ष बासुदेव अधिकारी लगायत संघका संचालक समिति, लेखासमिति, सल्लाहकार, संघका ब्यवस्थापक लगायतकाको उपस्थिति रहेकोे थियो ।

मुख्य समाचार