प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको छ । आगामी वैशाख १५, २०८१ सालमा हुने बझाङ प्रदेश (१) को उपनिर्वाचनमा रास्वपाले भाग नलिने निर्णय गरेको हो ।

प्रतिनिधिसभा उपनिर्वाचनका लागि इलाम केन्द्रित भएको रास्वपाले बझाङको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारी नदिने महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा–२ र बझाङको प्रदेशसभा (१)का लागि २०८१ वैशाख १५ मा मतदान हुने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो भने बझाङको प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ गते दुर्घटनामा परेर निधन भएपछि उक्त सिट पनि रिक्त छ ।

राजनीति समाचार