दूध उत्पादकलाई सास्ती: सस्तो मूल्य र ढिलो भुक्तानी

हेटौंडा । मकवानपुर जिल्लाका गाईपालक किसानहरु दूधको मूल्य घटेर सस्तोमा बिक्री गर्नुपरेकोमा चिन्तित छन् । जिल्लाका डेरी सञ्चालकहरुले समयमानै भुक्तानी नदिने र निजी क्षेत्रबाट सस्तोमा बिक्री गर्नुपरेको समस्या छ ।

बिगत चार महिनादेखि दूधको भुक्तानी नपाएका कारण किसानहरु बाध्य भएर केही दूध हेटौंडा दूग्ध बितरण आयोजना र निजी क्षेत्रका डेरीहरुमा बिक्री गर्छन् भने बाँकी दूध हेटौंडा बजारमा सस्तोमा बेच्नुपरेको छ । मकवानपुरगढीका किसान स्याम सापकोटाले यसबारे जानकारी दिनुभयो । जिल्लाका दूग्ध सहकारीहरुमा पनि दूधको मूल्य घटाइएको छ । डेरी उद्योगहरुले मिल्क होलिडेको धम्की दिएर दूधको मूल्य घटाएका छन्।

पछिल्लो समयमा वैदेशिक रोजगारी छोडेर आएका युवाहरु यस पेशामा लागेका छन् । तर घाँस र दानाको मूल्य बढ्दै गए पनि दूधको मूल्य घट्दै गएकाले यो पेशाप्रति आकर्षण घटेको किसानहरु बताउँछन् । यस्तो अवस्थामा गाईपालनबाट राम्रो आम्दानी नहुने र गाई पाल्न पनि मुस्किल हुने किसानहरुको गुनासो छ ।

जिल्लाका डेरीहरुले दूध नकिनिदिँदा दूध नबिकेर फाल्नुभन्दा सस्तो मूल्यमा किनबेच गर्नुपरेको छ । धेरै मेहनत गरेर उत्पादन गरेको दूधको बजारीकरणमा समस्या आएपछि किसानलाई गाईवस्तु पालन गर्न मुस्किल परेको छ । किसानहरुले दूध, दाना र घाँस ढुवानीमा अनुदानको माग गरेका छन् । बागमती प्रदेश सरकारले दूधमा दिदै आएको अनुदान बढाउनुपर्ने र नगरपालिकाले घाँस र दाना ल्याउँदा अनुदान दिनुपर्ने किसानको मागरहेको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय