सिमान्त समुदायमा प्रदेश प्रमुख शर्माः सुरीबस्ती पुगेर बुझे सुरेलका सवाल

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा प्रदेशभित्रका सिमान्त समुदायको उत्थानको अभियानमा लागेका छन् । प्रदेशका विभिन्न जिल्लाभित्र रहेका सिमान्त समुदायमै पुगेर उनले उनीहरूका सवालबारे जानकारी लिँदै आएका छन् ।

केही दिनअघि मात्र शर्मा दोलखाको गौरीशंकर गाउँपालिकाको वडा नं. ५ स्थित सुरी बस्तीमा पुगेका थिए । प्रदेश प्रमुख शर्मासँग अन्तरक्रिया गर्न गौरीशंकर गाउँपालिकाले व्यवस्था मिलाएको थियो । सुरी बस्तीमा आइपुग्दा सुरेलहरूले न्यानोसम्मत स्वागत गर्दै आफ्ना समस्या र सवालबारे प्रदेश प्रमुखलाई अवगत गराए ।

सुरेल जाति उत्थान समाजका अध्यक्ष विकास सुरेलले प्रदेश प्रमुख घरदैलोमै आएर चासो लिनुलाई खुशीको कुरा बताए । ‘हाम्रा सवालहरूप्रति चासो राख्नु र यहाँसम्म आउनुभएकोमा हामी खुशी छौं । हाम्रो समस्या, गुनासो र सवालबारे आगामी दिनमा सहयोग पाइन्छ भन्ने आशा छ,’ उनले भने । सुरेल समुदाय विभिन्न कठिनाईहरू झेल्दै जीवनयापन गरिरहेको छ ।

‘शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा हामी पछाडि परेका छौं,’ विकासले भने, ‘हाम्रो भाषा र संस्कृति लोप हुँदै गइरहेका छन्, सरकारले यसतर्फ ध्यान दिनुपर्छ भन्ने हाम्रो चाहना छ ।’ उनले आफ्नो समुदायलाई राजनैतिक दलहरूले आफ्नो स्वार्थअनुकूल प्रयोग मात्र गर्ने तर उचित संरक्षणका लागि ध्यान नदिने गरेको गुनासो गरे ।

‘हामीलाई आपसमा विभिन्न कित्तामा विभाजन गर्न राजनीतिक कारणले खेलवाड गरिएको छ । तर चुनावमा भोट हाल्न र सिङ्गो समुदायको उत्थानको विषय फरक छन्, यसलाई बुझ्नुपर्छ,’ विकासले भने । उनले बागमती प्रदेशले आगामी नीति तथा कार्यक्रममा सुरेल समुदायको उत्थानका लागि आवश्यक कार्यक्रम समावेश गर्न प्रदेश प्रमुखसँग आग्रह गरे ।

सुरेल समुदायका अर्का अगुवा विनोद सुरेलले दिर्घकालीन फाइदा पुग्ने खालका कार्यक्रमको आवश्यकता रहेको बताए । ‘हाम्रो समुदायमा महिनामा पन्ध्र दिनजति विभिन्न तालिमहरू हुने गरेका छन् तर ती तालिमका लागि तालिममात्र हुन्छन्,’ उनले भने, ‘व्यवसायिक रूपमा अगाडि बढ्न सकिने शीपमूलक तालिमको हामीलाई खाँचो छ ।’

सुरेलहरूको मुख्य पेशा कृषि भए पनि बाँस तथा कपडाजन्य उत्पादनको शीपले आत्मनिर्भर हुन सकिने विनोदको विश्वास छ । ‘हामीहरूको शीपको प्रयोगका लागि एउटा उद्योग नै स्थापना भएको भए आर्थिक रूपमा प्रगति हुने थियो,’ उनले भने, ‘यसो गर्न सकिएको भए स्वरोजगारीको अवस्था सिर्जना हुने थियो र सुरेल ब्रान्डकै रूपमा हाम्रा उत्पादनको पहिचान पनि बन्ने थियो ।’

सुरेल समुदायका बालबालिकाले शिक्षाका अवसरबाट वञ्चित नहुनका लागि विनोदले स्कुल तथा उच्च शिक्षाका लागि विशेष सहयोगका कार्यक्रमहरू ल्याउन प्रदेश प्रमुखसँग आग्रह गरे ।

सुरेल समुदायका अर्का नेता रमेशले आफ्नो समुदायमा रोजगारी र आर्थिक समृद्धिका अवसरहरू नल्याइएको भन्दै सरकारको आलोचना गरे । ‘अहिलेसम्म किन हाम्रा लागि लक्षित कार्यक्रमहरू नल्याइएको हो ?,’ उनले प्रश्न गरे । कपडा बनाउने पुख्र्यौली शीपसँग जोडिएका कार्यक्रमहरू चाहिएको रमेशको भनाइ छ । ‘स्थानीय, प्रदेश वा संघीय जुनसुकै सरकारले पनि हाम्रो पुख्र्यौली पेशा तथा शीपसँग सम्बन्धित काममा सहयोग गर्नुपर्छ,’ उनले भने ।

सुरेल समुदायका अगुवाहरूको आवश्यकता तथा चाहना सुनेका प्रदेश प्रमुख शर्माले सिङ्गो समुदाय उत्थानमा शिक्षाको महत्त्वपूर्ण भूमिका हुने बताए । उनले समुदाय विकासका लागि आवश्यक कार्यक्रमहरूका लागि सरकारका प्रतिनिधिहरूसँग सहजीकरणको भूमिका खेल्ने प्रतिबद्धता जनाए । प्रमुख शर्माले लामो समयदेखिको सुरेलहरूको शीप, कला, कौशल तथा परम्पराहरूलाई संरक्षण गर्दै अघि बढ्न सुरेल समुदायलाई आग्रह पनि गरे । विशेषगरी बालबालिकालाई पढाउने-लेखाउने काममा ध्यान दिन उनले सुझाव दिए ।

सुरेल समुदायका अगुवाहरूले आफ्ना समस्या र सवालहरू लिखित रूपमै बुझाएका थिए । प्रदेश प्रमुखले आवश्यक काममा गर्न सकिने भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

गौरीशंकर गाउँपालिकाले लोपोन्मुख सुरेल समुदायलाई समुन्नत र शिक्षित समुदायको रूपमा विकास गर्न आफ्नो तर्फबाट कुनै कसर नबाँकी राख्ने गाउँपालिका अध्यक्ष विकास कार्कीको भनाइ छ । जिल्लाका ३१८ जना सुरेल जनसंख्यामा २२५ जनाले मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाइरहेका छन् ।

सुरेल भाषा, संस्कृति संरक्षणमा संलग्न पत्रकार तथा लेखक मधुसुदन आचार्यले दोलखामा तामाकोशी किनारमा बसोबास गर्ने यो लोपोन्मुख जाति भएको बताए। समाजमा अत्यन्त अपमान खेपेकाले यसअघि थर परिवर्तन गरेको र आफूले सुनुवारबाट सुरेलमा कायम गराउन लडाइँ लडेको अनुभव आचार्यले बताए । सुरेलहरू ५०० वर्षअघि शिकार गर्दै सुरी खोलाको किनारमा आएर बसोबास गरेका रहेछन् भन्ने किम्बदन्ती प्रचलित छ ।

प्रदेश प्रमुख शर्मा समुदायकै वास्तविकतालाई बुझ्न स्थलगत अध्ययन गर्दै सिमान्त समुदायका अभियानमा लागेका हुन् । उनले अघिल्लो पटक मकवानपुरको अति लोपोन्मुख वनकरिया समुदायको अवस्था बुझेका थिए । उनी सिन्धुलीको हायू जातिसम्म पुग्ने भएका छन् । प्रमुख शर्मा बागमती प्रदेशका लोपोन्मुख वनकरिया, सुरेल तथा हायू समुदायको उत्थानमा सहयोग पुर्‍याउन आवश्यक कार्यक्रम निर्माण गर्न प्रयासरत छन्।

मुख्य समाचार समाचार समाज