समय अगावै जन्मिने बच्चाको आँखामा जालो लाग्ने समस्या

काठमाण्डौ – समय अगावै जन्मिने बच्चाको आँखामा अन्धोपना ल्याउन सक्ने ‘रेटिनोपेथी अफ प्रिमेचुरिटी’ (आरओपी) रोगका बिरामी बढ्न थालेका छन् । आँखाको भित्रि भाग अर्थात आँखाको पर्दामा जालो लाग्ने समस्यालाई आरओपी भन्ने गरिन्छ ।

सामान्य रुपमा गर्भ रहेको ४० हप्तापछि बच्चा जन्मँदा उनीहरुको सबै अङ्ग आवश्यकता अनुसार विकास भइसकेको हुन्छ । तर समय अगावै , २४ हप्तादेखि बच्चा जन्मेका उदाहरणहरु पनि थुप्रै छन् । उनीहरुमा अरु विभिन्न स्वास्थ्य समस्यासँगै आँखाको समस्या पनि प्रमुख रुपमा देखा पर्छ ।

उनीहरु कम तौलका हुने, आँखाको पर्दा अर्थात (रेटिना) राम्रोसँग विकसित नहुने र राम्रोसँग सास फेर्न नसक्ने भएकाले उनीहरूलाई नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियू) मा राखेर उपचार गर्नुपर्छ । यस्ता बच्चाहरुको आँखामा हुने समस्या पहिचान गर्न जन्मेको ३ हप्तादेखि आँखाको जाँच गराउन जरूरी रहेको डाक्टरहरुले बताएका छन् ।

कान्ति बाल अस्पतालमा भएको अध्ययनअनुसार ८१ जना समय नपुगि जन्मिएका बच्चामध्ये तीन जनामा आरओपीको समस्या देखा परेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत बाल नेत्ररोग विशेषज्ञ डा ज्योतिबाबा श्रेष्ठले बताउनुभयो । उहाँले समय अगावै जन्मिएको बच्चालाई भेन्टिलेटरमा अक्सिजन दिएर राखेकाले राम्रोसँग रेटिनाको तह बन्न नसक्ने बताउनुभयो ।

उनीहरूमा असामान्य रक्तनली हुने गर्छ, नयाँ नसा पलाउँछ र आँखाको पर्दा च्यातिने उहाँले बताउनु भयो । त्यसपछि धेरै जसो बच्चामा आँखाको भित्रि भाग अर्थात आँखाको पर्दामा जालो लाग्ने समस्या हुने उहाँको भनाइ छ । यस्तो समस्याको उपचार इन्जेक्न, लेजर र शल्यक्रियाको माध्यमबाट हुने डाक्टर ज्योतिबाबा श्रेष्ठले बताउनुभयो ।

मुख्य समाचार समाचार समाज स्थानीय स्वास्थ्य