हेटौंडामा आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी हुँदै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी–२०८० हुने भएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिले आगामी चैत्र २ गतेदेखि प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी आयोजना गर्न लागेको हो ।

बुधबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् समितिले ११ वर्षपछि “पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला सहभागिता आजको आवश्यकता” भन्ने नाराका साथ प्रदर्शनी गर्न लागिएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा महिला उद्यमी विकास समितिकी सभापति अंकिता सुमार्गीले प्रदर्शनीले महिलाहरुको उद्यमशीलताको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा राखेको बताइन् । प्रदर्शनीमा महिला उद्यमीहरुको हस्तकलाका उत्पादनहरु, अन्य वस्तु तथा सेवाहरुको प्रदर्शनी साथै कृषि सम्बन्धी स्टलहरु रहने उनले जानकारी दिइन् ।

चैत्र ६ गतेसम्म हेटौंडाको पल्पसा सदनमा संचालन हुने प्रदर्शनीमा ३७ वटा स्टलहरु रहने र मकवानपुर, सिन्धुली, चितवन, काठमाडौं, नुवाकोट, ईटहरीदेखिका उद्यमीहरुबाट स्टल बुक भएको समेत उनले बताइन् ।

मकवानपुरा जिल्लाका उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीमा निः शुल्क प्रदर्शनी तथा अवलोकनको व्यवस्था गरिएको उनको भनाई छ ।

प्रदर्शनी अवधीभर महिला उद्यमीहरुको बस्तु तथा सेवाहरुको प्रदर्शनी तथा बिक्री, कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री, स्थानीय कलाकारहरुको दैनिक मनोरञ्जनात्मक प्रस्तुति, महिला उद्यमीहरुको सफलताको कथा प्रस्तुति, महिला उद्यमशीलता लगायतका विषयमा प्यानल छलफल, कृषि सम्बन्धी खुल्ला अन्तक्रिया कार्यक्रम हुनेछ ।

पत्रकार सम्मेलनमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, संचार उद्यमी अरुणराज सुमार्गी, विभिन्न महिला उद्यमीहरुको उपस्थिती रहेको थियो ।

मुख्य समाचार समाचार