दलित संघमा आवद्ध अधिकारकर्मी र सञ्चारकर्मीबीच अन्तरक्रिया

बागमती प्रदेशको राजधानी हेटौंडामा दलित संघमा आवद्ध रहेर काम गर्ने अधिकारकर्मीहरु र सञ्चारकर्मीहरुबीच शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपालमा दलित महिला तथा किशोरीहरुको मानव अधिकार प्रबद्र्धनमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया भएको हो ।

कार्यक्रम दलित महिला संघ (फेडो) को आयोजनामा शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा दलित समुदायले भोग्नुपरेको विभेद र विभेद अन्त्य उपायहरुको बारेमा छलफल गरिएको थियो ।

दलित महिला संघ मकवानपुरकी अध्यक्ष पवित्रा विश्वकर्माले सामाजिक, आर्थिक क्षेत्रमा मात्र नभई राजनितीक क्षेत्रमा पनि दलित महिलाहरुले अवसर नपाई पिछडिन परेको बताउँदै पाएका केहि अवसरहरुमा पनि दबिनु परेको उल्लेख गरिन् ।

यस्तै, कार्यक्रममा प्रहरी निरीक्षक श्री दाता राम अधिकारीले दलित समुदाय शिक्षित हुनुपर्नेमा जोड दिँदै शिक्षित भएमा किशोर÷किशोरीहरु अझ बढी आफ्नो अधिकारको निम्ति लड्न सक्षम हुने बताए ।

साथै सो कार्यक्रममा उद्यम विकास प्रबर्द्धनका लागि कोष रकम हस्तान्तरण गरिएको थियो । नेपालमा दलित महिला तथा किशोरीहरुको मानव अधिकार प्रबर्द्धन परियोजना अन्तर्गत हेटौंडा उपमहानगरपालिका भित्रका ५ वटा दलित महिला समुहलाइ ४२ हजार रुपैँयाका दरले रकम हस्ताणतरण गरिएको हो ।

उक्त रकमले समुहका महिलाहरुले पसल व्यवसायलाई बढावा दिने, बंगुर फाराम सञ्चालन गर्ने, बाख्रापालन गर्ने जस्ता कामहरुमा लगानी गर्ने जनाइएको छ ।

कार्यक्रममा दलित महिला संघ मकवानपुरकी अध्यक्ष पवित्रा विश्वकर्मा, संघकी उपाध्यक्ष सुनिता दर्नाल, सचिव मन्जु रोक्का, प्रहरी निरीक्षक श्री दाता राम अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायत दलित समुदायका महिला अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

समाचार समाज